नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – अर्थमन्त्री डाक्टर प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।
आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो भ्रमणबारे जानकारी गराउँदै अर्थमन्त्री महतले अल्पविकसित र विकासोन्मुख देशले भोगिरहेका विभिन्न खालका समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन जी–२० सम्मेलन महत्त्वपूर्ण रहेको बताउनुभयो ।
‘सम्मेलनमा अल्पविकसित देशका समस्यालाई राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । अल्पविकसित देशले भोग्नुपरेको जलवायु परिवर्तनका समस्या, विश्वव्यापीरूपमा सूचना प्रविधि क्षेत्रको प्रयोगसँगै देखिएका चुनौती, डिजिटल कारोबारको व्यवस्थापन तथा यस्तो कारोबारको नियमनलगायतका विषय उठाइएका छन्’, उहाँले भन्नुभयो, ‘डिजिटलरूपमा भइरहेका कारोबारलाई कसरी व्यवस्थापन गर्ने र यसको करसँग जोडिएका विषयमा आफ्ना कुरा राख्ने अवसर पायौँ ।’
अहिले विश्वभर आर्थिक वृद्धिदर कम देखिएको र कर्जा प्रवाहसमेत घटिरहेको विषयमा जी–२० देशले पनि चासो देखाएको अर्थमन्त्री महतले बताउनुभयो । त्यस्तै आफ्नो भारत भ्रमणका क्रममा विकास साझेदार र दातृ निकायसँग पनि महत्त्वपूर्ण भेटघाट भएको उहाँको भनाइ छ ।
‘विश्व बैंक, एसियाली विकास बैंकलगायतका दातृ निकायसँग छलफल भएको छ । भारत र चिनियाँ अर्थमन्त्रीसँगको भेटमा द्विपक्षीय लगानी, व्यापारलगायतका विषयमा छलफल भएको छ । भारतका निजी क्षेत्रका उद्योगी व्यवसायीसँग नेपालमा लगानी गर्ने विषयमा महत्त्वपूर्ण भेटघाट रह्यो’, अर्थमन्त्रीले भन्नुभयो ।
सम्मेलनका क्रममा आफूले जलवायु परिवर्तन र यसबाट नेपालले बेहोरिरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको र जलवायु परिवर्तनका कारण सिर्जित समस्या न्यूनीकरणका लागि कसरी विकसित देशले सहयोग गर्नुपर्ने विषय उठाएको पनि मन्त्री महतले जानकारी दिनुभयो ।
नेपाल जी–२० देशको सदस्य नरहे पनि त्यस फोरममा सहभागी हुन नेपाललाई आमन्त्रण गरिएको थियो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), एसियाली विकास बैंक (एडीबी), एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाको सहभागिता रहेको थियो ।
जी–२० देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विभिन्न सत्रमा छलफल भएको थियो । त्यस्तै सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।