पछिल्लाे सुन प्रकरणबारे गृहमन्त्री– ‘निष्कर्षमा पुग्ने गरी अनुसन्धान हुन्छ’

 साउन ४, २०८० बिहीबार १९:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लाे सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराउनुभयो ।

बिहीवार सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताउनुभयो । उहाँले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने आश्वासनसमेत दिनुभयो । अर्थ मन्त्रालयसँग समन्वय गरेर त्याे कामलाई अघि बढाउने श्रेष्ठको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘पछिल्लाे सुन प्रकरणकाे अनुसन्धानलाई हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौँ । सम्बन्धित निकायलाई हाम्रो स्ट्यान्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्ट्यान्डबाई निर्देशन छ । जुनसुकै निकायले अनुसन्धान गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून् । याे घटनाकाे अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी होस् । दोषीलाई कानुनको दायरामा ल्याउने गरी अनुसन्धान होस् भन्ने हाम्रो स्ट्यान्डबाई निर्देशन छ ।’

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्‍याउनुभयो । उहाँले कार्यदलअन्तर्गत उपकार्यदलसमेत बनाएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले शुरुदेखि नै जोड दिएको दाबीसमेत गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया