जुम्लामा सत्र सय क्विन्टल नुन मौज्दात : साल्ट ट्रेडिङ कर्पोरेशन

 साउन ७, २०८० आइतबार ९:५९:१३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । खलङ्गाकाे डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मल्लले भन्नुभयो, ‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै पालिकाका वडाबाटै नुन वितरण गरिने  छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।’

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए । गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ । गत आव २०७९/०८० मा जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि चार हजार दुई सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ । यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले जानकारी दिनुभयो ।

तिला गाउँपालिकाका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको तिला–१ का वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया