नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक गाडीका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।
यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोसाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक गाडीमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनेपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सार्वजनिक गाडी आमनागरिकका साधन हुन्, आमनागरिकले प्रयोग गर्ने गाडी सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती गाडीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।’
मन्त्री ज्वालाले सार्वजनिक गाडीमा काम गर्ने चालक, सहचालक तथा कर्मचारी अनुशासित हुनुपर्ने र उनीहरूको पहिचान खुल्ने गरी अनिवार्यरूपमा पोसाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।
यसैगरी मन्त्री ज्वालाले सरसफाइ आममानिसका लागि अति आवश्यक भएकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । आजदेखि मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।
मन्त्री ज्वालाले लामो दुरीका गाडीमा यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल मिलेर ‘अनलाइन टिकट’ को शुरुवात गर्नेतर्फ सोच्नसमेत आग्रह गर्नुभयो । सवारी चालक परिचयपत्रका विषयमा धेरै गुनासा आइरहेकाले स्मार्टकार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी थालेकोसमेत उहाँले जानकारी दिनुभयो ।
इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्त्वपूर्ण आयोजना भएकाले यसलाई अनिवार्य गर्नेतर्फ सबैले सहयोग गर्नुपर्ने मन्त्री ज्वालाको भनाइ थियो । उहाँले सरसफाइका क्षेत्रमा पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सरसफाइ तथा जनस्वास्थ्य विज्ञ खेम शर्माले उल्लेख्य भूमिका निर्वाह गरी सबै क्षेत्रमा सरसफाइलाई विशेष महत्त्व दिएर काम गर्दै आएकामा धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले धेरैजसो नागरिकले सार्वजनिक गाडी नै प्रयोग गर्ने भएकाले यसका व्यवसायी तथा कर्मचारीले सार्वजनिक गाडी चढौँचढौँ लाग्ने बनाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका सरसफाइ तथा जनस्वास्थ्य विज्ञ खेम शर्माले देशमा पर्यटकीय क्षेत्रको विकास गर्न र पर्यटकलाई आकर्षित गर्न सार्वजनिक गाडी सफा हुनुपर्ने धारणा राख्नुभयो ।
गाडी समयमै चल्ने मात्र नभएर सफा र सुविधासम्पन्न बनाएर राख्नुपर्ने उहाँको सुझाव थियो । मानिसले आफ्ना निजी गाडी घरमै थन्काएर सार्वजनिक गाडी चढ्ने खालको बनाउन यस क्षेत्रका सबै सरोकारवाला लाग्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका तर्फबाट शर्मालाई सार्वजनिक गाडी प्रयोगका लागि निःशुल्क पासको व्यवस्था प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।