प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका समकक्षी शेख हसिनाबीच भेट, द्विपक्षीय हित र चासोबारे छलफल

 साउन ९, २०८० मंगलबार ८:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको हो ।

भेटमा कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । छलफलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

त्यस्तै, बङ्लादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो । बङ्लादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । केही महत्त्वपूर्ण जलविद्युत् आयोजनामा बङ्लादेश लगानी गर्न इच्छुक छ । प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्लादेशबीच विद्युत् व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरण समेत बनेको थियो ।

प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित राष्ट्रहरुको समूह (एलडीसी)को अध्यक्षको हैसियतमा हिजो संयुक्त राष्ट्रसङ्घको ‘फुड सिस्टम समिट–२' लाई सम्बोधन गर्नुभएको थियो । उहाँले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको दाबी गर्नुभएको थियो ।

हिजो नै प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकन तथा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच पनि भेटवार्ता भएको थियो । शनिवार रोम प्रस्थान गरेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शुक्रवार स्वदेश फर्कने कार्यक्रम छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया