कांग्रेस बैठक : नीति अधिवेशनको साटो महासमिति बैठक बस्ने, चुनावमा बागी उम्मेदवार बन्ने धेरैजसोको कारबाही फुकुवा

 साउन १०, २०८० बुधबार २०:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । यही साउन २ गतेदेखि चलिरहेकाे केन्द्रीय समितिको अन्तिम बैठकमा उठेका प्रश्न र जिज्ञासाको आज बुधवार सभापति शेरबहादुर देउवाले जवाफ दिनुभएको छ । उहाँले  आफ्नो धेरै आलोचना होला भन्ने लागेको तर आलोचना कम भएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले जीवन्त छलफल भएको र पार्टीमा योग्य नेताहरू छन् भन्ने कुरा सबैले बुझुन् भनेर बैठकको लाइभ गरेको बताउनुभयो ।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकले गरेका निर्णय पनि प्रस्तुत गर्नुभएको छ । कांग्रेसले नीति अधिवेशनको साटो महासमिति बैठक गर्ने भएको छ । महामन्त्री शर्माले नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने प्रस्ताव गर्नुभएको हो । मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन ।

यसैगरी बैठकले विभिन्न चुनावमा बागी उम्मेदवार बनेर जितेकाहरूको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले १२ जनाको कारबाही फुकुवा गरेको हो ।

यसैबीच कांग्रेसले मधेस प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन माग गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा कम वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताउनुभयो ।

यस्तै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै कांग्रेसले  जोकोहीले भ्रष्टाचार गरेकाे भए पनि कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्नेसमेत कांग्रेसले बताएको छ ।

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे भने कांग्रेस मौन बसेको छ । बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले खाणलाई निलम्बन गर्नुपर्ने मत राख्नुभएको छ भने केहीले साथ दिनुपर्ने मत राखेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया