एक वर्षमा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात, केरा किन्दा १ अर्ब ६२ कराेड बाहिरियाे

 साउन ११, २०८० बिहीबार २०:३१:२४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गएकाे आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बाैँ रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएकाे आवमा १६ अर्ब आठ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ । 
    
सात अर्बको नाै करोड स्याउ आयात 

विभागका अनुसार गएकाे आवमा सात अर्ब नौ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 

सार्वजनिक विवरणअनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्विट्जरल्यान्डबाट २७ लाख २० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विवरण छ । 

दुई अर्बको अङ्गुर आयात

गएकाे आवमा दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरकाे तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार र चीनबाट दुई करोड १२ लाख तीन हजार रुपैयाँ बराबरको आयात भएको छ ।   

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गएकाे आवमा एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ । 

विभागका अनुसार गएकाे आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रुपैयाँ  बाहिरिएको छ । जसबाट सरकारले नौ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ ।  
    
सार्वजनिक विवरणअनुसार गएकाे आवमा ८८ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड दुई लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबर रकम बाहिरिएको छ ।      

नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गएकाे आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार रुपैयाँ बराबर छ । 

यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च बाहिरिएको छ । 

त्यस्तै नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोकाडो आयात भएको छ भने सात करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया