नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया आयोजना गरी मनाइँदै छ । कलेजोसम्बन्धी अध्ययनका लागि नेपाली चिकित्सकको सङ्घ (नासल) का अध्यक्ष एवम् वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. सुधांशु केसी विशेषगरी भाइरल हेपाटाइटिस रोगबारे जनचेतना फैलाउन दिवस महत्त्वपूर्ण भएको बताउनुहुन्छ ।
‘नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । पहिलोमा ‘ए’ र ‘ई’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ’, डा. केसी भन्नुहुन्छ ।
के हो हेपाटाइटिस ?
हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ । हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुने गर्छन् ।
कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ । हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ ।
भाइरल हेपाटाइटिसलाई साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका धेरैजसो बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारीरिक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुर्व्यसनीमा फस्नेमा देखिने गरेको छ । हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ ।
डाक्टरका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ई भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्ल्यूएचओको अनुमान छ ।
विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।
हेपाटाइटिसबाट कसरी बच्ने ?
डाक्टरका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ । हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा. शर्माको सुझाव छ ।
उहाँ भन्नहुन्छ, ‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यो रोग कम हुँदै जान्छ ।’ उहाँका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयम् सचेत हुनुपर्छ ।
हेपाटाइटिसको उपचार
‘आफैँ निको हुने रोगको नेपालमा गलत उपचार भइरहेको छ । बिरामीलाई अप्ठ्यारोसँगै कतिपय अवस्थामा मृत्युसमेत हुने गरेको छ’, डा केसी भन्नुहुन्छ, ‘बिरामीलाई जन्डिसको समस्या देखिन्छ । जन्डिस भइसकेपछि आयुर्वेद र जडीबुटीको औषधि खाने तथा खाना बार्ने गर्दा रोग बिग्रिन्छ । त्यसले गर्दा अरू अप्ठ्यारो आउन सक्छ ।’
डा. केसी जनचेतनाको अभावमा बिरामीले जथाभाबी औषधि खान नहुने बताउनुहुन्छ । उहाँका अनुसार हेपाटाइटिस ए र ई हेपाटाइटिस पानी र फोहर खानेकुराबाट सर्ने गर्छ । यसका बिरामीले पर्याप्त आराम र स्वच्छ आहार खाने गरेको केही समयमा आफैँ निको हुन्छ । उहाँका अनुसार यो विशेषगरी दीर्घरोगी र गर्भवतीमा बढी सङ्क्रमण हुने गर्छ ।
हेपाटाइटिस सीको उपचारका सन्दर्भमा उहाँ भन्नुहुन्छ, ‘औषधिको मूल्य समान हुनाले अहिले एक बिरामीलाई ७० हजार रुपैयाँसम्म उपचार खर्च लाग्न सक्छ ।’ सी र एचआइभीको संयुक्त सङ्क्रमण हुने बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । हेपाटाइटिस बीका लागि खोप उपलब्ध छ ।
डा. शर्मा भन्नुहुन्छ, ‘हेपाटाइटिस बी सङ्क्रमण धेरै भएको पकेट क्षेत्रमा माइक्रो एलिमेनेसनको कार्यक्रम गर्नुपर्दछ । त्यस्ता ठाउँमा रोगको परीक्षण गर्नुपर्छ र बिरामीको समयमा उपचारको व्यवस्था गर्न सके सङ्क्रमण फैलिनलाई रोक्न सहयोग पुग्छ ।’
हेपाटाइटिस ए र ई स्वास्थ्यकर आहार र पर्याप्त आरामबाट निको हुनसक्छ । सीको औषधिको प्रयोगबाट निको हुन्छ भने बीको औषधिको प्रयोगले नियन्त्रण हुनसक्छ । बी र सीको औषधि उपचारबाट कलेजोलाई कडा हुनबाट बचाउँछ । चिकित्सकका अनुसार लिभर सिरोसिस भएमा अन्तिम विकल्प भनेको ट्रान्सप्लान्ट हो । त्यस कारण पनि समयमै रोगको पहिचान गर्नुपर्ने उहाँको सुझाव छ ।
नेपालमा हेपाटाइटिसको समस्या
सरकारसँग यकिन तथ्याङ्क नभए पनि तीन लाख जना हेपाटाइटिस रोगबाट पीडित हुनसक्ने चिकित्सकको अनुमान छ । देशभर तीन लाखमध्ये हेपाटाइटिस सीका बिरामी एक लाख छन् । चिकित्सकका अनुसार नेपालमा हेपाटाइटिस ए र ई बढी देखिन्छ । प्रत्येक वर्ष वर्षायाममा बढी देखिन्छ ।
‘हेपाटाइटिस बीको एक प्रतिशतभन्दा कम छ । कुनै–कुनै ठाउँमा धेरै छ । जस्तै मनाङ, मुस्ताङ र डोल्पामा धेरै छ’, डा केसी भन्नुहुन्छ, ‘हिमाली भू–भागमा मात्र होइन, तराईका केही समुदायमा पनि हेपाटाइटिस बीको सङ्क्रमण धेरै देखिन्छ ।’
डाक्टरहरू हेपाटाइटिससम्बन्धी सरकारले जनस्वास्थ्यको कामका रूपमा राख्न आवश्यक भएको बताउनुहुन्छ । डा. शर्मा भन्नुहुन्छ, ‘जसरी एचआईभीलाई महत्त्व दिइन्छ, यसलाई पनि प्राथमिकतामा राखेर यसको उपचार निःशुल्क गर्न पहल गर्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।