नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
खाेटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गर्नुभएको छ।
पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय २३ किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको राईले बताउनुभयो।
उपमेयर राईले वडा नं १ दिक्तेलका १००, वडा नं २ सोल्माका ५०, वडा नं ३ बाम्राङका ५०, वडा नं ४ खाल्लेका ३०, वडा नं ५ लफ्याङका ३०, वडा नं ६ नेर्पाका १००, वडा नं ७ दोर्पाचिउरीडाँडाका ५०, वडा नं ९ निर्मलीडाँडाका ३०, वडा नं १३ नुनथलाका ३०, वडा नं १४ बुइपाका ३० र वडा नंं १५ विजयखर्कका ५० जना किसानलाई नेपियर र अम्लिसो जातका घाँसको बिरुवा निःशुल्क वितरण गर्नुभएको छ ।
वडा नं ८ दोर्पाचिउरीडाँडा र वडा नं ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर तथा वडा नं ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा निःशुल्क वितरण गरिएको उपमेयर राईले जानकारी दिनुभयो ।
पशुपालनलाई व्यावसायिक बनाउन नगरपालिकाबाट यस आवका लागि एक करोड रुपैयाँ बजेटसमेत विनियोजन गरिएको उपमेयर राईले बताउनुभयो । 'निर्वाहमुखी पशुपालन गर्दै आएका किसानलाई व्यावसायिक बनाउन यो वर्ष भैँसी र बाख्रामा अनुदान दिने योजना बनाएका छौँ । पशुपालनमा लगानी गरेर मासु र दूधजन्य पदार्थमा नगरपालिकालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य छ', उहाँले भन्नुभयो, 'व्यावसायिक पशुपालनका लागि सम्भाव्यता अध्ययनसँगै किसानसँग भेटघाट गर्दै आफ्नै खर्चमा खरिद गरेर उन्नत जातको घाँसको बिरुवा निःशुल्क वितरण गरेको हुँ । यसले कृषकसमेत उत्साहित भएका छन् ।'
पशुपालन तथा व्यावसायिक कृषिका लागि नगरपालिकाले यस आवमा ब्याज अनुदानस्वरुप किसानलाई चार करोड रुपैयाँ उपलब्ध गराउने गरी पहल थालेको जनाइएको छ । जिल्लामा रहेकाे विभिन्न बैंकसँगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको मेयर तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्ने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक भएका छन् भने कतिपयले काम नै नगरी अनुदान मात्र लिएको गुनासो आउने गरेको छ ।
दश पालिका रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यावसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय पालिकाले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।