नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - संसदीय समितिले ललिता निवास, नक्कली भुटानी शरणार्थीदेखि सुनकाण्डसम्मका घटनाले सुशासनको विषयमा लज्जाबोध गराएको जनाउँदै त्यस्ता घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेको छ।
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले संसद् नचलेको तथा कार्य क्षेत्रभित्र परेको विषयसँग सम्बन्धित एक सय किलो सुन प्रकरणसहितका घटनाबारे गृहमन्त्रीलाई बोलाएर समितिमा प्रखर छलफलको आवश्यकता औँल्याउनुभयो ।
राज्यव्यवस्था र सुशासनसँग सम्बन्धित विषयमा अत्यन्तै प्रभावशाली र क्रियाशील हुनुपर्नेमा एकपछि अर्को काण्ड भइरहेको समयमा अझ बैठक घनीभूत हुन आवश्यक रहेको बताउँदै उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहेका तीनवटै घटनाको निष्पक्ष छानबिन र अनुसन्धानबारे गृहमन्त्रीसँग जानकारी लिनुपर्ने सुझाव दिनुभयो ।
समितिको कार्य क्षेत्र भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा र गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन र लोक सेवा आयोगसहित पर्छ । समिति सदस्य रवि लामिछानेले अन्तर्राष्ट्रिय सञ्जाल, सङ्गठित अपराधसँग जोडिएका घटनाले भ्रष्टाचार नियन्त्रण, सुशासनलाई चुनाैती दिएको बताउँदै गहिरो अनुसन्धान र निष्पक्ष छानबिनका लागि समितिको निर्देशन माग गर्नुभयो।
समितिका पूर्वसभापति एवं सदस्य हृदयराम थानीले देशमा भएका पछिल्ला घटनाबारे गृहमन्त्रीबाट आवश्यक जानकारी लिनु स्वाभाविक भएको बताउनुभयो । समिति सदस्य लिलानाथ श्रेष्ठले देशमा पछिल्लो समय भएका ठूला घटनामा संलग्न मुख्य व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई कसले चुनौती खडा गर्यो भनी प्रश्न गर्नुभयो ।
सांसद ईश्वरी न्यौपानेले विदेशमा पसिना बगाएर आउने श्रमिकले बोकेको चार आना देख्ने तर क्विन्टलका क्विन्टल सुन भन्सार पार हुँदा नदेख्ने घटनाले सुशासनको धज्जी उडाएको बताउनु भयाे ।
समिति सदस्य विश्वप्रकाश शर्माले एक सय किलो सुन बरामदको नभइ कति उम्कियो भन्ने मुख्य प्रश्न भएको बताउँदै नक्कली शरणार्थीदेखि सक्कली सुनसम्मका घटनाको गहिरो अनुसन्धान र निष्पक्ष छानबिनका लागि समितिमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य कृष्ण गोपाल श्रेष्ठले देशमा पछिल्लो पटक सार्वजनिक भएका महत्त्वपूर्ण घटनालाई अनुसन्धान र छानबिनका हिसाबले टुङ्गोमा पुर्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।
सदस्य दिलेन्द्रप्रसाद वडूले एक सय किलो सुन काण्डले भन्सार र सुरक्षाको क्षमतामाथि प्रश्न खडा गरे पनि सरकारकै संयन्त्रले पक्राउ गरेको घटनालाई पनि अन्यथारुपमा हेर्न नहुने तर्क गर्नुभयो ।
बैठकमा समिति सचिवालयले तयार गरेको आन्तरिक कार्यविधि-२०८० माथि भएको छलफलमा सदस्यले समितिलाई प्रभावकारी तुल्याउन तथा समयको परिपालनामा जोड दिँदै प्रेसलाई बैठकमा सहज पहुँच दिने विषयमा अन्यथा लिन नहुने धारणा राख्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।