नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
चितवन - चितवनसहितका जिल्लामा यतिबेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।
भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, 'हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ।' आँखा पाक्ने रोग (पिङ्क आइ डिजिज) विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रुपमा हामीले यसलाई लिएका छौँ ।' यो रोग एकबाट अर्कोमा नजिकको सम्पर्क (क्लोज कन्ट्याक्ट) भएको ठाउँमा सर्ने डा सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयाे 'छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भिडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्कोमा सजिलै सर्ने बढी सम्भावना रहन्छ ।'
यो रोग एक जनाबाट अर्कोमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने जनाउँदै उहाँले तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, 'बिरामी पहिलो पटक हामीकहाँ आउँदा आँखा बिझायो, बिहान उठ्दा आँखा सुनिएको देखियो, आँखा कचेराले टालियो, आँसु बढी आयो, उज्यालोमा हेर्न गाह्रो भयो भन्ने लक्षण लिएर आउनुहुन्छ ।' सुरुमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उहाँको भनाइ छ ।
आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी (कर्निया) मा मसिना–मसिना घाउ गराउन सक्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'आँखा पाकेको बिरामी देख्नुभयो भने त्यसबाट स्वस्थ मानिस टाढै बस्नु राम्रो रहन्छ ।' यसबाट बच्नका लागि कालो चस्मा प्रयोग गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, 'चस्माले रोकथाममा सहयोग त पुर्याउँछ, तर एकबाट अर्कोमा सर्दैन भन्ने हुँदैन ।'
घरमा कसैलाई आँखा पाक्ने रोग भएको छ भने उहाँबाट टाढै बस्नुपर्ने भन्दै उहाँले थप्नुभयो, 'बिरामीले चलाएका सामग्री रुमाल, तौलिया, सिरानीलगायतका सामग्री स्वस्थ मानिसले चलाउन हुँदैन ।' सकभर बिरामीलाई छुट्टै कोठामा राख्दा अझै राम्रो हुने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, 'घरमा एउटै बाथरुम हुन्छ, बिरामीले आँखा पुछेर छोएका बत्तीको स्वीच, ढोकाको ह्याण्डीललगायतका ठाउँमा स्वस्थ मानिसले छोएर आँखामा छोइयो भने यो रोग सर्दछ ।'
यो रोग लागेमा अस्पतालमै आएर जचाउन सुझाव दिँदै डा सुवेदीले भन्नुभयो, 'परीक्षण नगरि मेडिकलमा गएर औषधि लिनुहुँदैन, मेडिकलमा गएर देखाउँदा आँखा विशेषज्ञले नहेर्न सक्नुहुन्छ ।' कुनै कुनै घटनामा फर्मासिस्टले औषधि दिँदा केही नराम्रो दुर्घटना भएका जनाउँदै उहाँले आँखा पाक्ने रोग लागेपछि विशेषज्ञ चिकित्सकको राय लिएर मात्रै औषधि राख्न सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।