कर्णालीमा मात्रै चार प्रतिशत नागरिक बीमाको पहुँचमा

 साउन २१, २०८० आइतबार १०:५:२३ | रासस
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश जीवन बीमाकाे पहुँचमा निक्कै कमजाेर देखिएकाे छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा चार प्रतिशत नागरिकमात्र जीवन बीमा कार्यक्रमको पहुँचमा रहेकाे पाइएकाे हाे । 

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार कर्णालीको कुल जनसङ्ख्याको चार प्रतिशत नागरिक जीवन बीमाको पहुँचमा छन् । बीमा प्रिमियम (शुल्क) सङ्कलनको अवस्थाका आधारमा कर्णालीमा जीवन बीमा गर्ने नागरिकको सङ्ख्या न्यून रहेको प्राधिकरण प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीले जानकाकरी दिनुभयो ।

उहाँले भन्नुभयो,'देशका सात प्रदेशको तुलनामा जीवन बीमाको पहुँचमा आजका दिनसम्म पनि कर्णाली पछि छ । यसो हुनुको कारण यहाँको भौगोलिक विकटता, वित्तीय साक्षरता र जीवन बीमा कम्पनीले ग्रामीण भेगसम्म सेवा विस्तार नगर्नु हो ।'

बीमा मानव जीवनको सङ्कटको नजिकको सारथी हो भन्ने बुझाउन नसकेसम्म नागरिकले बीमा नगर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा सक्रिय जीवन बीमालेखको सङ्ख्या दुई लाख १७ हजार छ सय ५० रहेको छ । प्राधिकरणले कर्णालीवासीमा बीमाको पहुँच अभिवृद्धि गर्न जीवन तथा निर्जीवन बीमकसँग नियमित छलफल, बीमा अभिकर्ता, सर्भेयर तथा क्षति मूल्याङ्कर्तासँग अन्तरक्रिया, पालिका, प्रहरी र जिल्ला समन्वय समितिसँग अन्तरक्रिया तथा छलफल अगाडि बढाएको छ ।

कर्णालीका १० जिल्लामा जीवन बीमकको शाखा र उपशाखासहित एक सय १० र पुस मसान्तसम्मको कर्णालीमा निर्जीवन बीमकको सङ्ख्या शाखा र उपशाखासहित ४५ कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । सोडारीका अनुसार निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि कर्णालीमा न्यून छ ।

उहाँले भन्नुभयो,'मोटर, सम्पत्ति, कृषिबाली लगायत विविधसहित कर्णालीमा ५६ हजार आठ सय ९२ निर्जीवन बीमालेख रहेको छ ।' प्रदेशमा बीमा नीति तथा कानुनको अभाव, जनचेतनाको कमी, भौगोलिक कठिनाइ, वित्तीय साक्षरता नहुनु, बेरोजगारी तथा न्यून आयस्तर कर्णालीको बीमा क्षेत्रको ठूलो चुनौती रहेको प्रमुख सोडारीले जनाउनुभयो । 

कर्णालीमा वित्तीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको न्यून उपस्थितिले पनि बीमा कार्यक्रममा नागरिकको पहुँच वृद्धि हुन नसकेको उहाँले बताउनुभयाे । पछिल्लो समयमा प्राधिकरणले यहाँका बीमितको हितमा हुने गरी बीमा कम्पनीलाई परिचालन गरिने उहाँकाे भनाइ छ । 

तथ्याङ्क अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन् । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया