नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा रहेकाे संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो।
आजको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित भएको उहाँले बताउनुभयो । मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको बैठकमा सदन सञ्चालन गर्न सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा राष्ट्रिय सभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले सभाको गतिविधि र मुख्य सचेतक पाण्डेले प्रतिनिधि सभाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । दुवै सदनका सचेतकको ‘ब्रिफिङ’ का सम्बन्धमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका १२ सांसदले धारणा राख्नुभएको थियो ।
बैठकमा दलका नेता एवं प्रधानमन्त्री प्रचण्डले समग्र नेपाली नागरिकको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिनुभएको थियो । उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिले लिएका निर्णय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकको मूल भावका साथै सङ्घीय संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा प्रष्ट पार्नुभएको थियो । उहाँले सङ्घीय शिक्षा, सङ्घीय निजमती र सङ्घीय प्रहरी ऐन सरकारको प्राथमिकतामा रहेको र ती विधेयक तत्काल सदनमा दर्ता गर्न लागिपरेको बताउनुभयो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलसँगको संवादका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै अवैध सुन बाहिरिएको विषयको निष्पक्ष छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने निर्णय भएको विषय राख्ने जानकारी दिनुभएको मुख्य सचेतक पाण्डेले बताउनुभयो ।
'सुन समातिएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान अगाडि बढायो, यो राजस्वसँग मात्र सम्बन्धित नभएको र सङ्गठित अपराधसँग पनि जोडिएकाले यसको अनुसन्धानका लागि सिआइबीको जिम्मा लगाएको छ', उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।