उत्तरी रसुवामा निर्मित माथिल्लो साङ्जेनबाट विद्युत् उत्पादन शुरु

 साउन २४, २०८० बुधबार ६:५६:७ | रासस
unn.prixa.net

काठमाण्डौ – साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन शुरू भएको छ ।

माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा पठाउने काम सम्पन्न गरिएको हो । 

साङ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक सुनिलकुमार ढुङ्गेलका अनुसार सन् २०१३ देखि निर्माण शुरू भएको माथिल्लो साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन दिन थालेको र उत्पादित विद्युत् चिलिमे जलविद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत् केन्द्रीय भण्डारणमा पठाइ सकिएको छ ।

विद्युत् उत्पादनका लागि समुन्द्र सतहबाट दुई हजार तीन सय ५० मिटरको उचाइ तिलुचे बगरमा बाधबाँधी एक हजार तीन सय मिटर भूमिगत सुरूङ एवम् एक सय ५६ मिटर पेनस्टक पाइपको सहायताले प्रतिसेकेण्ड ११ दशमलव छ घनमिटर पानी सिम्बू गाउँको पुछारमा निर्मित विद्युत् गृहमा पुर्‍याएको छ । तीन वटा फ्रान्सिस टर्वाइनमार्फत् वार्षिक रूपमा आठ करोड ८५ लाख युनिट विद्युत् उत्पादन हुने र आयोजनाबाट  वार्षिक ४० करोड रुपैयाँ आय हुने प्रबन्ध निर्देशक ढुङ्गेलले बताउनुभयो। 

विद्युत् गृह रहेको स्थान समुन्द्र सतहदेखि दुई हजार एक सय ८० मिटरको उचाइमा रहेको छ । यो आयोजना सम्पन्न भएसँगै अब रसुवाको जल सम्पदाले एक सय एक दशमलव आठ मेगावाट विद्युत् उत्पादन गराएको छ । यसभन्दा अगाडि विसं २०६० मा २२ मेगावाट क्षमताको चिलिमे, विसं २०७१ मा पाँच मेगावाट क्षमताको मैलुङ्खोला र विसं २०७६ मा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि–ए जलविद्युत् केन्द्रले उत्पादन दिएको जनाइएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया