सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँछ ? : कांग्रेस सांसद शर्मा

 साउन २४, २०८० बुधबार १६:२१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्दत भएको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शर्माले संसद् अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिने कुरामा कसैको हानी नहुने बताउनुभयो । उहाँले राजस्व अनुसन्धान र सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने दाबी गर्नुभयाे । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने सांसद शर्माले जिकिर गर्नुभयाे । उहाँले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरू नै नमानेको र ढिलो–चाँडो उच्चस्तरी समिति बनाउन माओवादी तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यत्रो सुन काण्ड भएको छ । गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद् अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुपर्‍याे नि । दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने । तर अहिले माओवादीका साथीहरू मानिरहनुभएको छैन । उहाँहरूले ढिलो–चाँडो मान्नुपर्छ । यो पक्ष–विपक्षको होइन, देशका नागरिकको कुरा हो । सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि ।’

सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया