पहिराेका कारण भीमदत्त राजमार्ग पाँच दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

 साउन २७, २०८० शनिबार ६:३४:९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भीमदत्त राजमार्ग पहिराेका कारण पाँच दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेकाे छ। साेमवार राजमार्गकाे बूढीतोला खण्डमा गएकाे पहिराेका कारण सडक सञ्चालनमा आउन नसकेकाे हाे । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु पाँच दिनदेखि बीच बाटाेमै अलपत्र परेका छन्। 

डोटीबाट विशेष कामले धनगढीतर्फ आउँदै गरेका मीनराज जोशी बाटाेमै अलपत्र प‍र्दा निक्कै दु:ख पाएकाे बताउनुहुन्छ । 'अवरुद्ध सडक खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका छौँ', उहाँले भन्नुभयो, 'आज पाँच दिन भइसक्दासम्म बाटो नखुल्दा गोजीमा बोकेको खर्च सकिएर समस्यामा परेका छौँ ।'

यता, पहिरो पन्छाएर गाडीकाे आवागमन शुरु गराउने प्रयास गरिरहेकाे भए पनि निरन्तरकाे वर्षाले काम प्रभावित भएकाे सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताउनुभयो । उहाँले लगातार वर्षा भइरहँदा पहिरो पन्छाउने काम प्रभावित भएको बताउनुभयो । 

'पहिरो र भासिएको सडक खण्डको ८० प्रशित भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौँ', उहाँले भन्नुभयो, 'पूरै पहिरो पन्छाएर बाटो सञ्चालन गर्न वर्षामा भर पर्नुपर्छ ।'

याे सडक खण्डको झण्डै पाँच सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर सडक भासिएको छ । पहिरो खस्दा नजिकैका सात/आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन वटा एक्स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ । 

सडक अवरुद्ध हुँदा खाद्यान्न, औषधि, साग, तरकारीलगायत सामानको आपूर्ति राेकिएकाे छ । बाटो अवरुद्ध हुँदा मालवाहक गाडी बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी गाडीकाे आवागमन हुने गर्छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बूढीतोला सडक खण्डको स्थलगत अवलोकन गर्दै छिट्टै राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिनुभएकाे छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया