बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

 साउन ३१, २०८० बुधबार १३:२१:२४ | रासस
unn.prixa.net

काठमाण्डौ – मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन्।

आइतवार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो । बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरी उपभोक्ता सहकारीले गर्दै आएको छ ।

‘अहिले विद्युत् पूर्ण रुपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ,’ प्रजिअ केसीले भन्नुभयो, ‘उपभोक्ता सहकारीलाई भोलिका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छौँ । उहाँहरुले अस्तिदेखि नै पोल र तार मर्मतको काम गरिरहनुभएको हो ।’

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताउनुभयो । ‘अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्,’ उहाँले भन्नुभयो, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ।’

खानेपानी सञ्चालनको तयारी

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो । मङ्गलवारदेखि पारिको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताउनुभयो ।

प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले दुई वटा गाडी, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंशिक क्षति पुर्‍याएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया