प्रधानमन्त्रीले बाेलाएकाे सर्वदलीय बैठक सिंहदरबारमा चल्दै

 भदौ ३, २०८० आइतबार १३:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसदमा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाेलाउनुभएकाे राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक शुरु भएकाे छ । केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा शुरु भएकाे बैठकमा देशमा देखा परेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

गएकाे साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । त्यही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।

प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुनुभएकाे छैन । बैठकमा ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी हुनुहुन्छ ।

यस्तै बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी हुनुहुन्छ । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहनुभएका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमत पार्टीकी नेता अनितादेवी साह सहभागी हुनुहुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गएकाे साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । त्यही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ । सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया