प्याजमा कालो बजारी : पाँच व्यापारीलाई कारबाही, चारको अनुसन्धान चल्दै

 भदौ ४, २०८० सोमबार १९:५०:५१ | रासस
unn.prixa.net

काठमाण्डौ – भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ ।

एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँ सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा देखिएको छ । 

भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ । 

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमवार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ ।

भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उहाँले जानकारी दिनुभयो ।

‘प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यापारीलाई जनही २० हजार रुपैयाँ, दुई वटा व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले कारबाही गरिएको छ भने चार वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ,’ महानिर्देशक ठाकुरले भन्नुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतवार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमवार प्रतिकिलो २० रुपैयाँ बढेर ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेको उहाँको भनाइ छ ।

वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमवार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो। 

उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा पाँच वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृत अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिनुभयो।

भारतको वित्त मन्त्रालयले शनिवार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ ।

आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमनपछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया