नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराेको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराेको उच्च जोखिममा परेका हुन् ।
सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गासमेत गाउँमा झर्ने गर्छ । कति बेला कसको ज्यान जान्छ भन्न सकिदैन,’ टाँटरीका स्थानीय नरबहादुर मगर भन्नुहुन्छ, ‘वर्षा छ गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ निदाउन सकिँदैन ।’
गाउँमाथि उत्खनन क्षेत्रमा आधा दर्जन स्काभेटरले नियमित ब्रेकर चलाउँदा भिरालो ठाउँमा रहेको बस्ती हल्लिने गरेको स्थानीय सेब्रे मगरले बताउनुभयो । ‘कति बेला पहिराले लैजाने हो की ढुङ्गा झरेर मार्ने हो थाहा छैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो जग्गा किनिदिए पनि गाउँ छोडेर हिँड्न हुन्थ्यो ।’
पाँच वर्ष अघिदेखि त्यस क्षेत्रमा सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्टले खानी उत्खनन शुरु गरेको हो । खानी उत्खननका समयमा बस्ती हटाउने कुरा भए पनि उद्योगले त्यस्ताे नगर्दा बस्ती जोखिममा परेको स्थानीयवासी बताउँछन् ।
उत्खननपछि खानी तथा भूगर्भ विभागको अनुगमनले पनि बस्ती हटाउनुपर्ने सुझाव दिए पनि उद्योगले बेवास्ता गरेको स्थानीय सूर्य लामाले बताउनुभयो । ‘अनुगमनले तुरुन्तै यो बस्ती हटाएर मात्रै काम गर्नु भनेको थियो । तर अझै पनि हटाइएको छैन,’ लामाले भन्नुभयो, ‘बस्ती हटाउन बस्तीको जग्गा जमिन खरिद गर्नुपर्ने भएपछि उद्योगले खर्च नगरी उत्खनन गरिरहेको छ ।’
उद्योगका लागि ‘ए’ ब्लक खानी कार्यालयका माइनिङ इन्चार्ज होमबहादुर बस्नेत भने मापदण्डअनुसार उत्खनन गरेकाले जोखिम नरहेको दाबी गर्नुहुन्छ । ‘विभागको मापदण्डबाहेक एक इञ्च पनि तलमाथि गरेका छैनौँ,’ इञ्चार्ज बस्नेतले भन्नुभयो, ‘अनुगमन नियमित आउँछन् हामीले लापरबाही गर्नै मिल्दैन ।’
वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ । वर्षामा झनै माटो खुकुलो भएर स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीयवासी बताउँछन् । वर्षामा उत्खनन गर्न नमिल्ने भए पनि उद्योगले जबरजस्ती गरेको स्थानीयवासीको आरोप छ ।
तर खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेण्डेट जियोलोजिष्ट मोनिका झा वर्षामा उत्खनन बन्द गर्ने भनेको पालिकाको अधिकारमा नदीजन्य वस्तु मात्र रहेको बताउनुहुन्छ । खानी उत्खनन जहिले पनि गर्न मिल्ने झाको भनाइ छ । खानी उत्खनन गरिएको क्षेत्रसँगै जोडिएको लल्लरी खोला रहे पनि पालिकाले यसको विषयमा चासो नदिएको स्थानीयवासीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।