म्याग्दीकाे धवलागिरीका झन्डै चार सय परिवार डेढ महिनादेखि अन्धकारमा

 भदौ ७, २०८० बिहीबार १०:५१:२७ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

म्याग्दी - म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा बिजुलीविहीन भएका हुन् । 

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको परियोजनाको विद्युतगृह गएकाे असार अन्तिम हप्ता बगाएको थियो । धौलागिरी–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार परियोजना बगाउँदा चार बस्तीका तीन सय ७० परिवारको जनजीवन प्रभावित भएको छ । 

'नहरको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत गृह र पेनस्टक पाइप बगाएको छ', उहाँले भन्नुभयो, 'पेनस्टक पाइप, विद्युत् गृह र उपकरण पहिरोले खोलामा मिसाएको छ ।'

विसं २०७८ साल भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना  २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघुजलविद्युत् परियोजनामाथि निर्भर छन् । परियोजना बन्द हुँदा लुलाङका बासिन्दाको जनजीवन प्रभावित भएको उपभोक्ता भक्त सिंकिजा पुनले बताउनुभयो । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चाँर्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ । 

विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायासी काम गर्न समस्या भएको छ । पछिल्लोपटक परियोजना मर्मत गर्न गाउँपालिकाले १२ लाख रुपैयाँ र स्थानीय पूर्वाधार विकास कार्याक्रममार्फत दश लाख रुपैयाँ खर्च भएको थियो । धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले लुलाङ, खोरीया, लमसुङ र मरेनीमा जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो । 

'नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड रुपैयाँ बजेटको ठेक्का सम्झौताको तयारी छ', उहाँले भन्नुभयो, 'लुलाङको विद्युत् सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छाैँ ।'

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया