जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने काम भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

 भदौ ८, २०८० शुक्रबार १८:२०:५६ | रासस
unn.prixa.net

पर्सा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने काम भइरहेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । 

समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज शुक्रवार आयोजित सन्देश सभामा उहाँले भन्नुभयो, ‘यतिबेला जनयुद्ध र मधेस आन्दोलनमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरूबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।’ यो बडो दुःखद कुरा भएको र यसलाई आफूहरूले गम्भीररूपमा लिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रतिगामी शक्तिका विरुद्ध र नागरिकलाई समाजवादको यात्राका डोर्‍याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उहाँले पुराना एजेन्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेन्डाका साथ अघि बढेको बताउनुभयो । ‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।’ 

विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्‍याइएको भन्दै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई पनि सरकारले निष्कर्षमा पुर्‍याउने उहाँले दाबी गर्नुभयो । 

यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रूपमा देखिएको मिटरब्याजी पीडितहरूको समस्यालाई ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उहाँले निजगढ विमानस्थल निर्माणका लागि बिहीवार नै मन्त्रिपरिषदबाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गर्नुभयो । 

मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउने तयारी भइरहेका बेला ठूलो वर्षा र बाढी आएकाले त्यो तत्कालका लागि रोकिएको उल्लेख गर्दै उहाँले एक–दुई दिनभित्रै त्यो निर्णय गरिने र मधेसका किसानले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । मधेसमा सिँचाइ गर्न सुनकोशी–मरिन डाइभर्सनको कामलाई तीव्रता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निजगढ–काठमाण्डौ फास्ट ट्र्याकको काम छिट्टै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसदबाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तीन वटै ऐन पारित गराई कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो । संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थितरूपमा संशोधन गर्न सरकार, सदन र सडक तीन वटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया