बाग्लुङमा पहिरोले दुई वटा घर भत्किए, दर्जनभन्दा बढी घर उच्च जोखिममा

 भदौ ९, २०८० शनिबार ८:३४:५१ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाग्लुङ - भारी वर्षापछि पहिराे जाँदा बाग्लुङमा दुई वटा घर भत्किएका छन् । एक दर्जनभन्दा बढी घर पहिराेकाे जाेखिममा परेका छन् । 

बाग्लुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाका कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । 

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बाग्लुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेका छन् । 

घर भत्किँदा नारायणको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जमुनाको छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा भएकाे वडाध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको उहाँले बताउनुभयो । 

'पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि पहल गरेका छौँ', अध्यक्ष केसीले भन्नुभयो, 'बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जनभन्दा बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भइ रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।'

विस्थापित परिवारले बाग्लुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताउनुभयो । 

बाग्लुङ नगरपालिका–४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडक खण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका छन्। पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेका सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया