नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – रसुवाको उत्तरी क्षेत्रमा रहेकाे प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ ।
बाग्मती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डाैकाे सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा. निशान्त जोशीको संयोजकत्वमा माउन्टेन मेडिसिन सोसाइटीका सात जना डाक्टर गोसाइँकुण्ड पुगेको जानकारी दिनुभयो ।
डा. जोशीले हिमालय उद्धार सङ्घको सोलुखुम्बुमा रहेकाे फेरिचे स्वास्थ्य चौकीमा काम गरिसक्नुभएको छ । याे डाक्टर समूहले १० दिन यस क्षेत्रमा सेवा गर्नेछ । ‘याे टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ’, प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो ।
सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।
समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यको पहलमा भर्खरै मोबाइल टावरसमेत पुर्याइएको छ । यसअघि गोसाइँकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्कसमेत नभइरहेको अवस्थामा सांसद आचार्यले ढुवानीको व्यवस्था गरी नेपाल टेलिकमको भ्वाइस तथा 'टु जी' सञ्चालनमा आएको हो ।
एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।