नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा एमालेको २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै नागरिकले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको पनि जनाएको छ । ‘पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ । समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवम् अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यति बेला नागरिकले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।’
एमाले (तत्कालीन माले) द्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औँ वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र नागरिक तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ’, विज्ञप्तिमा छ ।
त्यसैगरी विसं २०१९ मा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौँ क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रूपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण मार्क्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको पनि एमालको दाबी छ ।
‘त्यस्तो महत्त्वपूर्ण यस ऐतिहासिकस्थललाई मुक्तिकामी नागरिक र प्रगतिशील शक्तिको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका नागरिकसँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ’, विज्ञप्तिमा भनिएको छ । बैठक आज दिउँसो ३ बजेदेखि शुरु भएको थियो ।
विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको ‘हाइकमाण्ड’ का रूपमा रहेको १९ सदस्यीय सचिवालय बैठक बसेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।