नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

 भदौ १७, २०८० आइतबार १५:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

आज आइतवार 'हेलो सरकार' को सेवालाई तीन 'शिफ्ट' मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको सबै निकायहरूलाई नागरिककाे गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो । उहाँले आफूहरूलाई महत्त्वको नलाग्ने गुनासोहरू नागरिककाे दैनिक जीवनका लागि महत्त्वपूर्ण हुने भन्दै त्यसलाई ख्याल गर्न आग्रह गर्नुभयो । सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरू अमृत समान हुने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यस संयन्त्रलाई सरकारी नीति, निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रूपमा विकास गर्नुपर्ने नै छ । सुशासनको पहिलो सर्त सरकार र नागरिकबीचको आत्मीय सम्बन्धको विकास हुनु हो । नागरिकमा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले धेरै अर्थ राख्दैनँ । त्यसैले म नेपाल सरकारका सबै निकायहरूलाई नागरिककाे गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न विशेष निर्देशन दिन चाहन्छु । हाम्रा लागि साना तथा धेरै महत्त्व नलाग्न सक्ने गुनासोहरू आमनागरिकका लागि दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने महत्त्वपूर्ण विषय हुन् सक्छन् ।’

सार्वजनिक निकायहरूमा गुनासो सुनुवाइ गर्ने संयन्त्र रहे पनि त्यसले नागरिककाे मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ । उहाँले नागरिककाे गुनासो तथा जिज्ञासाहरूलाई 'बास्केट' मा राखेर कार्यालयमा 'स्टोर' मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले नागरिकप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पार्नुभयो । 

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार' पछिल्लो समय प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन । आजदेखि याे सेवा २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 'हेलो सरकार' को डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी त्यसकाे जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

'हेलो सरकार' २४ सै घण्टा सञ्चालनका लागि तीन 'शिफ्ट' को कार्यतालिका निर्माण गरी त्यही अनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको जनाइएको छ । गुनासो सम्बोधनका निम्ति 'र्‍यापिड रेस्पोन्स टिम' समेत गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • खेम

    Sept. 3, 2023, 3:53 p.m.

    कस्तो अपुर्ण समाचार हो ! इमेल र अन्य नम्बरहरु त समाचारमा उल्लेख भएका छैनन । सरकारी कर्मचारीले जनताको गुनासो फोनमा सुन्न सक्लान ? इमेलको उत्तर फर्काउलान ?

  •  0 Reply

तपाईको प्रतिक्रिया