गुम्बा नभत्काउन काठमाण्डाै महानगरलाई गुम्बा तमु सेवा समितिकाे आग्रह

 भदौ १८, २०८० सोमबार १३:८:१६ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिका वडा नं १० देवीनगरमा रहेकाे काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । 

समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो । 

समितिका अध्यक्ष टीकाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'विसं २०६६ साल जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिमा समेत दर्ता गरेर काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समिति सञ्चालनमा रहेको छ ।'

गुम्बा स्थापनार्थ वडा कार्यालयको सिफारिसमा जग्गा प्रमाणित गरेर वडाकै डिजाइनमा गुम्बा निर्माण गरिएको जनाइएको छ । साथै तत्कालीन वडा कार्यालयबाट पनि बजेट विनियोजन भइ गुम्बाको भवन निर्माणमा सहयोग रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'गुम्बा निर्माणमा सयौँ बौद्ध धर्मावलम्बी आस्थाका व्यक्तिसहित पर्यटन मन्त्रालय, सहरी विकास तथा भवन विभाग, जिल्ला समन्वय समिति काठमाण्डाै, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, संसदीय विकास कोषलगायत विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग जुटाइएको जानकारी गराउँदैछौँ ।'

केही समय अगाडि महानगरपालिकाले धर्म, संस्कृति र समाजको बेवास्ता गर्दै सार्वजनिक सूचना जारी गरेर गुम्बा भत्काउन माइकिङ गर्ने कार्य गरिरहेको कुराले समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । महानगरले धर्म, संस्कृतिको रक्षा गर्नुपर्नेमा उल्टै भत्काउने कुरा राम्रो नहुने समितिको भनाइ छ । 

काठमाडौमा मात्र नभइ देशभर मन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्चलगायत धार्मिक आस्थाका केन्द्र सार्वजनिक जग्गामै बनेका स्मरण गराउँदै समितिले महानगरलाई आफ्नो मातहत ल्याएर गुम्बाको संरक्षण गर्नसमेत आग्रह गरेको छ । 

गएकाे साउन ३ गते महानगरले डोजर ल्याएर देवीनगरमा संरचना भत्काउन खोज्दा उच्च अदालत पाटनबाट तत्काल गुम्बा नभत्काउन आदेश जारी भए पनि महानगरले त्यसको अवज्ञा गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, 'संरचना आफैँ नहटाए भत्काउने भन्दै महानगरपालिकाले माइकिङ गर्नु सम्मानित अदालतको अपहेलनाका हो ।'

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Devchandra ghimire

    Sept. 7, 2023, 4:34 a.m.

    सार्वजनिक जमिनमा बनेका सम्रचना ठाउँ हेरी भत्काउनु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया