'जापानिज इन्सेफ्लाइटिस' बाट नवलपुरमा एक जनाको ज्यान गयो

 भदौ १९, २०८० मंगलबार १४:५८:१९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

नवलपरासी – लामखुट्टेको टोकाइबाट लाग्ने रोग 'जापानिज इन्सेफ्लाइटिस' बाट नवलपुरमा एक जनाको ज्यान गएको छ ।

देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको 'जापानिज इन्सेफ्लाइटिस' बाट ज्यान गएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो । ‘जिल्लामा चालु आर्थिक वर्षमा दुई जना महिलामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको ज्यान गएकाे छ’, उहाँले भन्नुभयो, ‘एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।’

गएको आव २०७९ ८० मा जिल्लामा पाँच जनाको 'जापानिज इन्सेफ्लाइटिस' बाट ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । गएको आवमा सात जनामा सङ्क्रमण पुष्टि भएको मध्ये पाँच जनाको ज्यान गएको हो । जिल्लामा गएको आवदेखि 'जापानिज इन्सेफ्लाइटिस' फेला परेको प्रमुख चापागाईंले बताउनुभयो । जिल्लामा रोग देखिएपछि पालिकामार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

‘जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिह्नहरू भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्’, उहाँले भन्नुभयो, ‘विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापानिज इन्सेफलाइटिस बढी देखिने गर्दछ ।’

यस रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी ज्यान जाने गरेको चापागाईंले बताउनुभयो ।  

‘यस रोग लाग्दा धेरैजसोलाई  ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छन्’, उहाँले भन्नुभयो, ‘यस रोगका खतराका लक्षणहरू छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।’

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया