काभ्रेकाे मेथिनकोट अस्पतालमा मिर्गाैलाकाे डायलायसिस सेवा शुरु

 भदौ २२, २०८० शुक्रबार १३:२९:५७ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा रहेकाे मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा शुरु गरिएको छ । अस्पतालमा पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवाकाे शुरु गरिएको हाे ।अब  बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक अस्पतालकाे सेवाबाट लाभान्वित हुने विश्वास लिइएकाे छ । 

काठमाण्डाैका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सेवा शुरु गरेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताउनुभयो । उहाँका अनुसार अब काठमाण्डाैका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताउनुभयो । 'यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ', उहाँले भन्नुभयो । तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका मेयर कुन्साङ लामाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी भएका लामाको भनाइ छ ।

अस्पताललाई बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा अहिले सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ । अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया