तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

 भदौ २२, २०८० शुक्रबार १७:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । हिजाे बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले याे निर्णय गरेको बताउनुभएको हो ।

यस्तै बैठकले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयाे । त्यस्तै जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६ देखि २९ गतेसम्म आयोजना हुने नेपाल–चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानुन पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय भएकाे छ । 

बैठकले न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानुन न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिव पदमा र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेकाे छ । 

प्रवक्ता शर्माले खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरूमा आर्थिक वर्ष २०८०/८१ का लागि अधिकृतस्तरका दुई सय ३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चीनको बेजिङमा आउँदाे असोज ८ देखि ९ गतेसम्म आयोजना हुने ग्लोबल सस्टेनेबल ट्रान्सपोट फोरम २०२३ मा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्द चापाईंलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको बताउनुभयाे । यस्तै सरकारले माथिल्लो दरौदी सी साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखाको राष्ट्रिय वन क्षेत्रको कुलजम्मा ४ दशमलव ९२४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा त्याे वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय गरेकाे छ ।

बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा. डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका आयोजनाहरूका लागि आर्थिक वर्ष २०८०/८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका लागि ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया