नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् पार्टीका संस्थापक नेता बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।
पार्टीले आयोजना गरेको आज आइतवारदेखि प्रारम्भ भएको तीन दिने ‘बीपी साहित्य महोत्सव’ को उद्घाटन समारोहमा सभापति देउवाले बीपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रूपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौँ ।’
बीपीकै चिन्तनले देश समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उहाँले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बीपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताउनुभयो ।
महोत्सवले बीपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँका साहित्यिक कृति, उहाँले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।
‘बीपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरू ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले मार्क्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा मार्स्कसवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो’, उहाँले भन्नुभयो ।
बीपीले साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बीपीको विचार रहेको सभापति देउवाले बताउनुभयो । उहाँले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताउनुभयो ।
सभापति देउवाले समयको अन्तरालसँगै आज हाम्रो देश पनि बीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको उल्लेख गर्दै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको धारणा व्यक्त गर्नुभयो ।
‘बीपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो, सबै किसिमका विभेदविरुद्ध आगो ओकल्नु हुन्थ्यो । समावेशीता र सधैँ नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैँ उभिनुभयो’, सभापति देउवाले भन्नुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बीपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नु हुने उहाँको भनाइ छ । राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो देशका पक्षमा बोल्नु र निर्णय गराई बीपीको स्वभाव रहेको सभापति देउवाको भनाइ छ ।
बीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवम् नेपाली लेखक सङ्घको संयोजन एवम् नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोगमा यही भदौ २४ देखि २६ गतेसम्म चल्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव हुनेछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गएकाे साउन २ देखि १० गतेसम्म भएको बैठकले ११०औँ बीपी जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर छ । आजको राजनीतिक परिवेशमा समेत बीपीको विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा हुनुहुन्छ ।
महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।