पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भिड

 भदौ २८, २०८० बिहीबार १३:६:५३ | रासस
unn.prixa.net

काठमाण्डाै – दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहीवार बिहानैदेखि काठमाण्डाै उत्तर पूर्वी भेगमा रहेकाे गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम) मा भक्तजनको भिड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भिड लागेको हो । गोकर्णमा भक्तजनको भिडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र बाग्मतीको कोरिडोर भएर गुड्ने गाडीलाई निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बाैद्धले जनाएको छ । सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्णऔँसीका दिनमा यस मन्दिरमा भक्तजनको भिड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्ट जानकारी दिनुहुन्छ ।

गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाइएको बताउँछन् । भक्तपुर चाँगुनारायणबाट आउनुभएकी दर्शनार्थी जया खत्री गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउनुहुन्छ । ‘मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर मात्र थाहा पाएँ’, उहाँ भन्नुहुन्छ ।

मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि जयाको गुनासो छ । नेपाल ट्रस्टकाे मातहतमा रहेको वन क्षेत्रभित्रको सडक खोलिदिएको भए पनि यो समस्या हुने थिएन तर यसतर्फ पालिका र सङ्घीय दुवै सरकारले बेवास्ता गरेकामा उहाँ आपत्ति जनाउनुहुन्छ ।

मन्दिरको दक्षिण भागबाट बनेको सडक दक्षिणढोका निस्कने भए पनि त्यो पर्खालभित्र रहेको र नेपाली सेनाको सुरक्षा घेराभित्र यो क्षेत्र परेको छ । पर्खाल थोरै माथि सारेर सडक बाहिर पार्न गोकर्णेश्वर नगरपालिकाले आग्रह गर्दै आए पनि नेपाल ट्रस्टकाे कार्यालयले टेरेको छैन । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको व्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाइएको धेरै भक्तजन बताउँछन् । यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भिड लाग्ने गरेकोे छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी पनि यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु काल्साङ लामाको भनाइ छ ।

बौद्धमार्गीले आजका दिन गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पितृको स्वरूपको दर्शन गर्न पाइने विश्वाससमेत रहेको उहाँ जानकारी दिनुहुन्छ । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।

आजैका दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कार्यका लागि आवश्यक कुश भित्र्याई कुशेऔँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मिठो मिठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ । गोकर्णेश्वर मन्दिर क्षेत्रमा आज बेलुकीसम्म नै पितृका नाममा श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भिड लाग्ने मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत उल्लेख गर्नुहुन्छ ।

मेलाका लागि हिजाे बुधवारदेखि नै दुई सय जना स्वयंसेवक खटाइएको पनि उहाँ बताउनुहुन्छ । आज बेलुकीसम्म झन्डै पाँच लाख भक्तजनले मन्दिर क्षेत्रमा आएर पितृप्रति सम्मानभाव प्रकट गर्न सक्ने गरी व्यवस्थापन गराइएको पनि समितिले जनाएको छ । बिहान १० बजेसम्म झन्डै सवा दुई लाख भक्तजनले गोकर्णेश्वरबाट उत्तरगयासम्म बाग्मती किनारमा बसेर पितृप्रति सम्मानभाव प्रकट गरेको पनि अध्यक्ष महत उल्लेख गर्नुहुन्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया