लुम्बिनी प्रादेशिक अस्पतालका काेठामै थन्किए महँगा स्वास्थ्य उपकरण

 भदौ ३०, २०८० शनिबार १२:१४:० | रासस
unn.prixa.net

तस्बिर : रासस

कपिलवस्तु - लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञसहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपीडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता झन्डै पाँच सय  रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सय जनासम्म बिरामी उपचारका लागि आउँछन् । 

अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जनभन्दा बढी स्वास्थ्य सेवा उपलब्ध छ । अस्पतालमा स्वास्थ्य सेवाका लागि प्रायजसाे मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ ।

पछिल्लो समय मुटु, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था छैन । बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्ला बाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ । 

यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ । आवश्यक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक पर्ने थप उपकरणको व्यवस्था नहुँदा डेढ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन् ।

पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल बन्दै गएको मुटुको स्वास्थ्य सेवा यस अस्पतालले शुरु गरेको छ । यो जटिल रोगका लागि अस्पतालमा विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् तर मुटुको उपचारका लागि परीक्षण र थप उपचारका लागि महत्त्वपूर्ण मानिएको ‘क्याथल्याब’ मेसिन गएकाे १० महिनादेखि अस्पतालको एउटा कोठामा थन्काएर राखिएको छ । 

लुम्बिनी प्रदेश सरकारले गएकाे वर्ष झन्डै १० करोड रुपैयाँमा खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको मुटुको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा थन्किएको हो  ।

यससँगै प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘ईआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन पनि खरिद गरेर राखिएको छ । यी स्वास्थ्य उपकरणमध्ये ‘ईआरसीपी’ मेसिन बिरामीको पित्त तथा कलेजो बाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि हेर्ने दूरविनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि हो ।

यस्तै, ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउने हो । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब छ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद गरिएका हुन् ।

यी उपकरण सञ्चालनमा ल्याउन थप केही उपकरण आवश्यक पर्ने र ती उपकरण आएपछि जनशक्तिको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाले बताउनुभयो । आधुनिक प्रकारका यी उपकरणसहितको यो सेवा सञ्चालन गर्न ‘ईआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डीएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट आवश्यक हुन्छ । 

अहिले नयाँ समिति आएर यसका सरोकारवालासँग ताकेता गरेपछि अबको केही महिनामा ‘क्याथल्याब’ सञ्चालन ल्याउने गरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताउनुभयो ।

‘क्याथल्याब’ सञ्चालनका लागि कार्डियोलोजिस्टसहितका स्वास्थ्यकर्मीको व्यवस्थापन भएको र यद्यपि आपत्कालीन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थापा बताउनुहुन्छ । सामान्य प्रकारका बिरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा ‘क्याथल्याब’ सञ्चालन गर्नेगरी जनशक्ति लगायतका प्रबन्ध भइरहेको मेसु थापाले बताउनुभयो । 

'मुटुको उपचार गर्ने विशेषज्ञ डाक्टरले केही समयदेखि सेवा दिइरहनुभएको छ, अझै एकजना विशेषज्ञ प्रदेश सरकारबाट प्रबन्ध हुँदैछ', उहाँले भन्नुभयो, 'प्रदेश लोकसेवा उत्तीर्ण गरेर आएका स्टाफ नर्सको जनशक्तिलाई थप तालिमको व्यवस्था गरेर ‘क्याथल्याब’ छिट्टै नै सञ्चालन गर्ने तयारीमा छौँ ।'

हृदयाघात भएर सामान्य अवस्थामा फर्केका र हृदयाघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ । '‘क्याथल्याब’ मेसिन सञ्चालनमा ल्याउँदा तत्काल ‘एन्जिओप्लास्ट’ र ‘एन्जिओग्राफ’ को सेवा विस्तार गर्ने तयारीमा छौँ', उहाँले भन्नुभयो, 'यसबाट मुटुको ब्लक खोल्ने र पेसमेकर राख्ने सम्मको सेवा सञ्चालन हुने छ ।' 

सरकारले बिरामीको उपचारका लागि ‘क्याथल्याब’ खरिद गरेर लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण आवश्यक जनशक्तिको अभाव रहेको प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थी बताउनुहुन्छ । याे सेवा सञ्चालनका लागि केही जनशक्ति व्यवस्थापन भइसकेको र अपुग थप जनशक्ति पनि प्रदेश सरकारका तर्फबाट व्यवस्थापनका लागि प्रक्रियाअघि बढिसकेकाले करिब छ महिनाभित्रमा सञ्चालन गर्नेगरि थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको सचिव डा पन्थीले बताउनुभयो । 'म सचिवको जिम्मेवारीमा आएपछि क्याथल्याब सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छु', उहाँले भन्नुभयो, 'बजेट नपुग भएको भन्ने जानकारी भएपछि बजेटको प्रबन्ध गरेर पठाइ सकिएको छ, छिट्टै नै सञ्चालनमा आउन ।'

नागरिकका लागि निःशुल्क ओपीडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा नागरिकको आकर्षण बढाएको छ । यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुवै प्रभावकारी हुन सकिरहेको छैन ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया