पार्टीलाई कार्ययोजना र कार्यतालिका अनुरूप नै चलाउनुपर्नेमा शेखर समूहको जोड

 असोज २, २०८० मंगलबार १८:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप नै चलाउनुपर्नेमा जोड दिएको छ ।

आज मङ्गलवार बालुवाटारमा बसेको कोइराला पक्षधर नेताहरूको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप चलाउनुपर्नेमा जोड दिएको हो । यही असोज ४ गतेदेखि हुने कांग्रेस केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट एजेन्डा तय गर्न बसेको बैठकले कार्यतालिकाअनुसार साङ्गठनिक गतिविधि भए/नभएको समीक्षा गर्दै त्याे तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता दिलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको एजेन्डाकाे विषयमा छलफल केन्द्रित भएको बताउनुभयो । उहाँले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध गर्न नहुने र त्यसलाई निरन्तरता दिनुपर्नेमा आफूहरूको मत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘साङ्गठनिक रूपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढिरहेको छ । एक चरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समीक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ । त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ, त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन । नीति अधिवेशनको रूपमा महासमिति बैठक बोलाउने कुरा गरेका छाैँ । महासमिति बैठकलाई व्यवस्थित गर्नका लागि के–कस्तो तयारी गर्नुपर्छ भन्ने कुरा भयो । उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियाैँ ।’

नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रीय समिति बैठकमा समीक्षा हुने बताउनुभयो ।

बैठकमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मिनेन्द्र रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया