सङ्घीय संसद्को चालु अधिवेशन एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा

 असोज ३, २०८० बुधबार १४:२३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्को चालु अधिवेशन एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ । संसद् र दलहरूको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रूपमा रहेको सङ्घीय संसद्को दोस्रो अधिवेशन एउटा मात्रै विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो ।

२०८० वैशाख २४ गतेदेखि शुरु भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले अहिलेसम्म मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० मात्रै पारित गरेको छ । चालु अधिवेशनको ५५ वटा बैठक बसिसक्दा पनि एउटा बाहेक विधेयक पारित हुन नसकेको संसद्ले अब केही दिनमात्रै चल्ने चालु अधिवेशनमा अरू विधेयक पारित हुने अवस्था देखिँदैन । प्रतिनिधिसभाको बैठक यही असोज १४ गते र राष्ट्रिय सभाको बैठक असोज १२ गते बोलाइएको छ । नेपालीहरूको महत्त्वपूर्ण पर्व दशैँ तथा तिहार नजिकिँदै गरेको अवस्थामा चाडपर्वअघि नै संसद्को चालु अधिवेशन अन्त्य हुनेछ । यसो हुँदा संसद् तथा समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि पर्याप्त छलफल हुन नसक्ने र विवादित विषयहरूमा समेत दलहरूका बीचमा सहमति जुट्न नसक्दा विधेयक पारितविना नै अधिवेशन अन्त्य हुने सम्भावना देखिएको हो ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सङ्घीय संसदमा अहिले १७ वटा विधेयक विचाराधीन अवस्थामा रहेकाे बताउनुभयो । प्रतिनिधिसभाको समितिमा १२ वटा विधेयक रहेको र भर्खरै दुई वटा विधेयक दर्ता भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रियसभामा तीन वटा विधेयक रहेको प्रवक्ता गिरीले बताउनुभयाे ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा ५५ वटा बैठक बसेको छ । यस अधिवेशनमा सात वटा बैठक अवरुद्ध भएको र आठ वटा बैठक सूचना टाँस गरेर स्थगित गरिएको प्रवक्ता गिरीले बताउनुभयो । उहाँले समितिमा रहेका विधेयकहरूलाई अगाडि बढाउने सन्दर्भमा सम्बन्धित मन्त्रालय हेर्ने मन्त्री, समिति सभापति र समिति सदस्यहरूको प्रमुख भूमिका हुने बताउनुभयो ।

संसद्ले विधेयक पारित गर्न नसक्नुमा राजनीतिक दलहरू भने आपसमा आरोप–प्रत्यारोप गर्छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले विधेयक पारित गराउन नचाहेको आरोप लगाएको छ । सत्तारूढ दलहरू भने सरकारको बचाउ गर्दै सरकारले संसद्प्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहेको दाबी गर्छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै एमालेका सचेतक महेश बर्तौलाले विधेयक पारित हुन नसक्नुमा सांसद र प्रतिनिधिसभाको दोष नभएको बताउनुभयो । उहाँले सरकारको अर्कमण्यता र संसद्लाई प्रभावहीन बनाउने सरकारको चाहानाका कारण विधेयक पारित हुन नसकेको बताउनुभयो । सरकार विधेयक दर्ता गर्न तयार नै नभएको सचेतक बर्ताैलाकाे भनाइ छ ।

नेपाली कांग्रेसका सचेतक सुशीला थिङले चालु अधिवेशनमा बजेट छलफल गरी पारित गर्नुपर्ने भएकाले पनि अन्य विधेयकमा ध्यान पुर्‍याउन नसकिएको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलले गरेको संसद् अवरोधका कारण पनि विधेयक पारित गर्ने काममा असर परेको बताउनुभयो । यद्यपि विधेयक दर्ता भइरहेकाे र समितिमा समेत रहेको भन्दै संसदीय प्रक्रियाका कारण पनि ढिलासुस्ती भएको उहाँकाे भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले समितिहरूको कारण विधेयक पारित हुन ढिलाइ भइरहेको बताउनुभयो । सरकारले संसद्लाई बिजनेस दिइरहेको उहाँले बताउनुभयो । सरकारले ल्याएको विधेयक समितिमा पुगेको लामो समय भइसक्दा पनि समितिले पारित गरेर संसदमा नपठाएको उहाँको भनाइ छ । विगतमा समिति सभापति नभएको बाहनामा विधेयक रोकिएको भन्दै उहाँले अब भने छिटोभन्दा छिटो विधेयक पारित गरेर समितिले संसदमा पठाउनुपर्ने बताउनुभयो । चालु अधिवेशनमै महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने प्रमुख सचेतक पाण्डेकाे भनाइ छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ विचाराधीन अवस्थामा रहेका छन् । त्यस्तै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ पनि विचाराधीन छन् । त्यसैगरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०, नेपाल विश्वविद्यालय विधेयक २०८०, विद्यालय शिक्षा विधेयक २०८० र विद्युत् विधेयक २०८० पनि प्रतिनिधिसभामा रहेका छन् ।

राष्ट्रियसभामा भने विद्युतीय व्यापार विधेयक २०८०, राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ र अध्यागमन विधेयक २०७६ विचाराधीन अवस्थामा रहेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया