नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बागलुङ – बागलुङका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् ।
आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि हुनुहुन्छ । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाउनुभयो । उहाँले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहनुभएको छ ।
सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाउनुभएको छ । उहाँले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्याउने व्यवस्था मिलाउनुभएको छ ।
‘व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो पाँच वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग शुरु गरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ,’ सापकोटाले भन्नुभयो, ‘बाह्र रोपनी जग्गामा नौवटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।’
उहाँले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहनुभएको छ भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहनुभएको छ । ‘गएको जेठमा मात्रै दुई लाख रुपैयाँको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग शुरु गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो,’ उहाँले सुनाउनुभयो । उहाँले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिनुभएको छ ।
‘प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।’ उहाँका एक छोरा अहिले अमेरिका र एकजना अष्ट्रेलिया हुनुहुन्छ ।
‘पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक पाँच लाख रुपैयाँ खर्च भए पनि १० लाख रुपैयाँ बचत हुन्छ ।’
उहाँ यतिबेला कृषि फार्म विस्तारको योजना बनाउनुभएको छ । फार्मलाई पूर्णरुपमा विषादीमुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उहाँको भनाइ छ ।
फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । बाँकी जग्गाका लागि वार्षिक ८० हजार रुपैयाँ भाडा तिर्नुहुन्छ । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आउनुभएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उहाँले बताउनुभयो ।
सापकोटालाई श्रीमती चित्रकुमारी र कान्छा छोरा सागरले पनि सहयोग गर्दै आउनुभएको छ । सापकोटा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वमा पनि हुनुहुन्छ । निरन्तरको कृषि लगावका कारण आफूले सफलता पाएको भन्दै सापकोटाले कृषिमा धैर्यता आवश्यक रहेको बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।