नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले समस्याग्रस्त देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेकाले उद्योगी–व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५६औँ वार्षिक साधारणसभालाई आज जनकपुरधाममा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भूकम्प, कोरोना महामारी र अन्तर्राष्ट्रियरूपमा भएको आर्थिक मन्दीका कारण नेपाली अर्थतन्त्रमा परेको दबाब सुधारोन्मुख रहेकाले दृढ आत्मविश्वासका साथ लगानी बढाउन आग्रह गर्नुभयो ।
‘भूकम्प, कोरोना महामारी, अन्तर्राष्ट्रियरूपमा भइरहेको आर्थिक र द्वन्द्वको असर नेपालले पनि भोग्यो । अर्थतन्त्रमा दबाब अवश्य थियो तर पछिल्लो समय त्यसमा सुधार हुँदैछ । विप्रेषण प्रवाह, पर्यटकीय गतिविधिमा बढोत्तरी, बजेट अनुशासन कायम गरेर अगाडि बढ्ने सरकारको नीतिका कारण विस्तारै सुधार हुँदैछ,’ अर्थमन्त्री डा महतले भन्नुभयो, ‘त्यसैले म विश्वासका साथ भन्छु नेपाली अर्थतन्त्र सुधारोन्मुख छ । आर्थिक क्रियाकलाप बढाउन सरकारको मौद्रिक नीति र बजेट अनुशासनले पनि काम गरिरहेको छ । त्यसबाट परिणाम आउन केही समय लागे पनि निराशाको अवस्थालाई आशामा बदल्न सरकार प्रयत्नशील छ । तपाईँ व्यापारी साथीहरू पनि आत्मविश्वासका साथ काम गर्नुस् ।’
उहाँले देशमा आर्थिक क्रियाकलापमा बढोत्तरी नहुँदा राजस्व सङ्कलनमा समेत असर परेकाले विकासका पूर्वाधारमा पर्याप्त लगानी गर्न कठिनाइ भइरहेको बताउनुभयो । ‘नेपालले सामाजिक सुरक्षामा गरेको प्रतिबद्धता, कर्मचारीको तलब तथा चालु खर्चजस्ता अन्य दायित्व पूरा गर्दै जाँदा पुँजीगत दायित्व वा विकासमा पर्याप्त लगानी गर्न सकिरहेको छैन । राजस्व वा आम्दानी बढ्न नसकेकाले यस्तो समस्या भएको हो । अब सबै पक्षले सकारात्मक पहल गरेमा यो अवस्थालाई सुधार्न सकिन्छ । त्यसका लागि म सबै सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँको भनाइ थियो ।
मधेश प्रदेशमा कृषि, पर्यटन र उद्योगको विकासमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले सुनकोसी मरिन कमला डाइभर्सनको काम द्रुतगतिमा अगाडि बढाएको र पूर्व–पश्चिम नहर प्रणालीको विकासका लागि उचित ध्यान दिने भन्दै अर्थमन्त्री डा महतले जलेश्वलाई अन्तर्राष्ट्रिय नाका बनाउन र जटहीलगायतका नाकाको स्तरोन्नति गर्न सरकारले पहल शुरु गरिसकेको पनि जानकारी दिनुभयो । प्रदेशको राजधानी जनकपुर क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न पनि सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद एवम् नेकपा एमाले नेतृ जुलीकुमारी महतोले राज्यले उपेक्षा गरेका कारण मधेश प्रदेशमा विकासले गति लिन नसकेको भन्दै सरकारले अब यहाँका सम्भावनाको सदुपयोग गर्न ठोस नीति तथा योजना बनाउन सक्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका नेता एवम् मधेस प्रदेश सभा सदस्य रामसरोज यादवले सङ्घीयताको मर्मअनुसार विकास निर्माणदेखि अन्य कानुनी जटलिता फुकाउन सङ्घीय सरकारले पहलकदमी लिनुपर्ने बताउनुभयो ।त्यसैगरी नेकपा एमाले प्रदेश सभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले जनकपुरको विकासका लागि गुठीको जग्गा व्यवस्थापन र मधेसको विकासका लागि कृषि सिँचाइलाई लक्षित गरी पूर्व–पश्चिम नहर प्रणालीको विकासमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, पूर्वप्रमुख बजरङ्गप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी, वर्तमान अध्यक्ष जितेन्द्रकुमार महासेठलगायतले जनकपुरधाम र मधेशको विकासका पूर्वाधार विकासमा लगानी र लगानीको वातावरण निर्माण गर्न उद्योगीका समस्या समाधानमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँहरुले महोत्तरीको जलेश्वर भिठ्ठामोड नाकालाई अन्तर्राष्ट्रिय भन्सार नाकाका रूपमा विकास र धनुषाको जटही नाकाको स्तरोन्नति, बैंकबाट सहजरूपमा ऋण लिने अवस्था र सस्तो ब्याजदर, गुठीको जग्गा व्यवस्थापन र जनसङ्ख्याको आधारमा बजेटको न्यायोचित बाँडफाँडमा ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।