पेयपदार्थमा अखाद्य वस्तु भेटेपछि पेप्सीकोलाकाे वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना

 असोज १५, २०८० सोमबार १०:६:४३ | रासस
unn.prixa.net

काठमाण्डाै - पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाण्डाै महानगरपालिकाले वडा ३२ पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ ।    

कामपाले हिजाे गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिबाना गरिएको काठमाण्डाै महानगर कृषि तथा पशुपक्षी  विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो ।  

प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर भएकाे र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो । 

जरिबाना रकम आउँदाे एक हप्ताभित्र बैंक खातामा जम्मा गर्न कामपाले आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र जरिबाना रकम नबुझाए त्यही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले दाबी गरेकाे छ । 

अनुगमन टोलीले याे कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गरी निर्देशन दिएको छ ।  

चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि तीन करोड ५० लाख रुपैयाँ रहेकाे छ ।  

बजारलाई थप व्यवस्थित गर्न कामपाले गएकाे साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतमा वर्षहरूमा कामपाले चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड शुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।     

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपमेयरकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया