डोकाे बिक्रीबाट मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै चन्द्रबहादुर

 असोज १५, २०८० सोमबार १२:४३:३१ | रासस
unn.prixa.net

तस्बिर : रासस

भाेजपुर - भोजपुरका चन्द्रबहादुर तामाङले डोकाे बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । 

टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोकाे बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश वटासम्म डोकाे तयार गर्ने उहाँको भनाइ छ । डोकाे बिक्रीबाट मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म आम्दानी हुने उहाँले बताउनु भयाे । 

'चालीस वर्षअघिबाट डोकाे बुन्ने काम गर्दै आएको छु', उहाँले भन्नुभयो, 'एक दिनमा आठदेखि दश वटासम्म डोकाे बुन्छु । डोकाे बिक्रीबाट मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ । डोकाेबाट नै मेरो  चिनारी बनेको छ ।' डोकाे स्थानीय बजारमा प्रतिगोटा तीन सय ५० देखि चार सय रुपैयाँसम्ममा बिक्री हुने तामाङले बताउनुभयो । घरको अन्य काम नगरि यही मात्र पेसा गर्ने हो भने वार्षिक सात/आठ लाख रुपैयाँसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

'डोकाे बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ', उहाँले भन्नुभयो, 'यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक सात/आठ लाख रुपैयाँ आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।'

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोकाे जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोकाे तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाेको लागि विभिन्न ठाउँबाट माग हुने उहाँले बताउनुभयो ।

'मैले बुनेको डोकाेको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ', उहाँले भन्नुभयो, 'गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोकाे पुर्याउन समस्या हुन्छ ।' आफूले बुनेको डोकाेलाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उहाँको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट पाँचदेखि छ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो । 'डोकाेको माग धेरै ठाउँबाट आउँछ', उहाँले भन्नुभयो, 'यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु  । मैले बुनेको डोकाे किन्न गाउँ/गाउँबाट मानिस आउँछन् ।'

सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोकाे बुन्दै आएको तामाङको भनाइ छ ।

'नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्', उहाँले भन्नुभयो, 'डोकाे बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।' प्रविधिको विकाससँगै गाउँघरमा  नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताउनुभयो । यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

'पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ', उहाँले भन्नुभयो, 'मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।'

आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताउनुभयो । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया