ग्वार्कोमा ‘फ्लाइ ओभर’ समयमै सकाउन दैनिक २१ घण्टासम्म काम

 असोज १८, २०८० बिहीबार ८:१९:१५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि बढाइएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको हाे । 

आउँदाे फागुन १२ गतेसम्म निर्माण सक्ने गरी अहिले राति पनि काम भइरहेको केन्द्रका इञ्जिनियर राकेश महर्जनले बताउनुभयो । 'बिहान सबेरै काम शुरु गरेर रातिसम्म काम भइरहेको छ', उहाँले भन्नुभयो, 'कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही राति १२ बजेसम्म काम गरिरहेका छन् ।' आउँदाे पाँच महिनामा सडकको बीचको पुल निर्माण पूरा हुने र दायाँबायाँ पहुँच सडकको काम पनि समानान्तररुपमा गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'अहिले काम गरेको गति हेर्दा निर्माण व्यवसायीले पनि काम समयमै सकाउने गरी काम भइरहेको देखिन्छ ।' 

अहिले निर्माणस्थलमा पाइल (जगमा राखिने कुरा) को काम भइरहेको छ । भदौमा उपकरण आएपछि यसको काम भइरहेको इञ्जिनियर महर्जनले जानकारी दिनुभयो । अहिलेसम्म आठ पाइल सकिएको छ । एउटा पाइल बनाउन कम्तीमा दुई दिन लाग्ने उहाँको भनाइ छ । एउटा साइडमा १२ र अर्कोमा १२ गरी जम्मा गरेर २४ पाइल चाहिनेमा अहिलेसम्म सात पाइलको काम सकिएको हो ।

‘फ्लाइ ओभर’को माथिल्लो भागको गर्डर (निर्माणमा प्रयोग हुने बिम) लागि आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ । पाइलको समस्याका कारण दुई/तीन महिना काम रोकिए पनि अहिले निरन्तर भइरहेको उहाँले बताउनुभयो ।
    
अब पुल चढ्ने ‘र्‍याम्प वाल’ बनाउन बाँकी रहेको इञ्जिनियर महर्जनले बताउनुभयो । गाडी चढ्नका लागि आवश्यक आरइ वाल (पर्खालको प्रकार) चाहिने र त्यसका लागि ‘प्यानल’ तयारी अवस्थामा छ । 

निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउछेउका लेनबाट गाडी नियमित सञ्चालन गरेको छ । गाडी आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको केन्द्रले जनाएको छ । 

काठमाण्डाै उपत्यकाको चक्रपथको ट्राफिक चापलाई व्यवस्थापन गर्न सरकारले ‘फ्लाइ ओभर’ निर्माण अघि बढाएको हो । फ्लाइ ओभर निर्माणपछि सातदोबाटो-कोटेश्वर खण्ड, मङ्गलबजार-इमाडोल हुँदै लुभु सडक खण्डमा गाडीलाई सुरक्षित र व्यवस्थित आवागमन गर्न सुविधा हुने अपेक्षा गरिएको छ । 

‘फ्लाइ ओभर’मा बालकुमारीतर्फ तीन सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ एक सय ८५ मिटरको र्‍याम निर्माण गर्न लागिएको छ । विसं २०७८ फागुनमा आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड छ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया