पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाऔँ : विश्वप्रकाश शर्मा

 असोज १९, २०८० शुक्रबार १७:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार सङ्घीय भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले पीडित परिवार दोषीलाई माफी दिन तयार भएमा राष्ट्रपतिसमक्ष पुगेर माफी दिन सकिने बताउनुभएकाे हाे । तर पीडित परिवार पनि धम्की र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औँल्याउँदै उहाँले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘अब हामीले कसैलाई माफी दिने हो भने पीडित परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफी दिन ? माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिउँ । माफी दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफी दिने कुरा गलत हुन्छ । यद्यपि परिवार तयार हुनेबित्तिकै माफी दिइहाल्नुपर्छ भन्ने कुरा पनि फेरि हाम्रोजस्तो समाजमा सजिलो कुरो होइन । परिवारलाई धम्क्याइएको हुनसक्छ । लोभमा पारिएकाे हुनसक्छ । दिनदहाडै खुँडा प्रहार गरेको मान्छे फूलमाला, अबिर लगाएर हिँडेको देख्दा नागरिकमा वितृष्णा हुँदैन ? नागरिकमा आवेग हुँदैन ? र त्यो आवेग कहिले राजनीतिक रूपमा भड्किन्छ । कहिले धार्मिक रूपमा भड्किन्छ । त्यस कारणले अहिले समाजमा भइरहेको वितृष्णा र समाजमा फैलिइरहेका विविध खाले आवेगलाई नियन्त्रण गर्न पहिला हामी नियन्त्रित हुनुपर्छ । सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म संयमित बन्नुपर्छ ।’

महामन्त्री शर्माले नेपालगञ्जका ‘रिगल डन’ भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिन नहुने बताउनुभयो । अदालतले याे निर्णयलाई वैधता दिएमा दण्डहीनता बढेर जाने उहाँले बताउनुभयो । महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको उल्लेख गर्नुभयाे । उहाँले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रम रोकिने विश्वास व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया