नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनु पर्छ : विश्वप्रकाश शर्मा

 असोज २७, २०८० शनिबार १८:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उहाँले नयाँ भन्ने कुरा मितिको आधारमा नभइ संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गर्नुभयो । दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाण्डौ सम्पर्क मञ्चले काठमाण्डौमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताउनु भयो । उहाँले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘कसैले भन्दैगर्दा पुरानाका दिन गए । पुराना धर्मशास्त्र पनि हो । पुराना चाँही यो धर्ती पनि हो । पुराना भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसदमा पहिलो पटक छ । नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नु पर्छ । कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँ चाँहि प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुराना हुँदैमा, हामी आफैँमा बिदाइ पनि हुन्नौँ । र, शक्तिमा, सरकारमा छाैँ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौँ ।’

महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले देशमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकताबद्ध भएर अघि बढन कांग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गर्नु भयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने बताउनु भयो । नेता कार्कीले भन्नु भयो, ‘हाम्रो धर्म निरपेक्षता, हाम्रो संघीय प्रजातन्त्र, हाम्रो समावेशी प्रजातन्त्र र हाम्रो गणतन्त्र नियाउरो भएर, रुन्चे भएर, पिलन्धरे भएर सकिन लागेको छ । हाम्रो राजनीतिक संस्कृति रुन्चे भएको कारणले गर्दा प्रतिगामीहरु कस्सिएर आएका छन । उनीहरुको आँट बढेको छ । अब एकचोटी यो बाँकी रहेका कम्युनिष्टहरु र समाजवाद मान्ने का‌ंग्रेसहरु एकचोटी जुर्मुराउने हो भने, नया तरिकाले आफूलाई अघि बढाउने हो भने विकल्प फेरि पनि समाजवाद नै हो । नेपाली समाजको विकल्प भनेको समाजवाद मात्रै हुन सक्छ ।’

कार्यक्रममा बोल्दै नेकपा –माले)का महासचिव सीपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताउनु भयो । उहाँले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया