काठमाण्डाै–दिल्लीको भन्दा काठमाण्डाै–धनगढीको हवाई भाडा महँगाे

 असोज २९, २०८० सोमबार १०:५७:३६ | रासस
unn.prixa.net

सुर्खेत - काठमाण्डाैदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार रुपैयाँ पुर्याइएपछि चाडपर्वका समयमा काठमाण्डाैबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । 

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाण्डाै–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाण्डाै–धनगढीको हवाई भाडा सात हजार नौसय रुपैयाँबाट वृद्धि गरी सत्र हजार रुपैयाँभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, 'काठमाण्डाैदेखि नयाँ दिल्लीको हवाई भाडा सत्र हजार रुपैयाँभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।'

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताउनुभयो ।

'मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ', उहाँले भन्नुभयो, 'चाड पर्वको बेला काठमाण्डाैबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाण्डाै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।' भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । 

अहिले काठमाण्डाै–धनगढीको भाडादर १४ हजार सातसय एकदेखि १७ हजार एकसय ८६ रुपैयाँ लिने गरिएको छ । धनगढीदेखि काठमाण्डाैसम्मको भाडा भने निम्नतम सात हजार नौ सय रुपैयाँ छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाण्डाैमा चारसय र धनगढीमा पाँच सय रुपैयाँ तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्धएअर र श्री एअरलाइन्सले काठमाण्डाै–धनगढी–काठमाण्डाैसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एअरलाइन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एअरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधवार र सोमवार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया