नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
झापा – झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित 'मर्निङ वाक' जानुहुन्थ्यो । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उहाँ हात्तीको आक्रमणमा पर्नुभयो । दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उहाँको ज्यान गयो ।
झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौँको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर बिहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर रैथाने हात्ती बिहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् ।
एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका रैथाने हात्तीका कारण 'मर्निङ वाक' त्रासमय हुने गरेको छ । ‘बिहानै सडकमा हात्ती हिँड्दै गरेका हुन्छन्, मर्निङ वाक गर्न पनि डराउने अवस्था आयो’, मेचीनगर नगरपालिका–१० धुलाबारीका गङ्गाधर पराजुलीले सुनाउनुभयो ।
'मर्निङ वाक' मात्र होइन, बिहान सडक आसपास फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । भर्खरै धुलाबारी बजारभित्रै बगैँचामा फूल टिपिरहेका बेला जङ्गली हात्तीको आक्रमणमा परि ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै ज्यान गयो ।
'मर्निङ वाक' गर्ने, च्याउ–निगुरो टिप्ने, घाँस र दाउरा सङ्कलन गर्ने मानिसहरू हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जङ्गलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरू धेरै छन् ।
पूर्व–पश्चिम राजमार्गको चारआली जङ्गल खण्डमा दिनहुँ ५० भन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरू एकाबिहानै घना जङ्गलभित्र पसेर निगुरो र च्याउ सङ्कलन गर्छन् र सडक किनारमा पसल थाप्छन् ।
निगुरो र च्याउ खोज्ने मानिसहरू हात्ती आक्रमणको जोखिममा छन् । जङ्गल पार गरेर सडकमा आउनुपर्ने र एकाबिहानै जङ्गलभित्र ती वस्तु खोजी गर्नुपर्ने भएकाले उनीहरू कुनै पनि बेला हात्तीको निसानामा पर्न सक्छन् ।
हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल वनसहित दर्जनौँ सामुदायिक वन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, बिर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षीलगायतका क्षेत्रमा पनि हात्ती भेटिन्छन् ।
स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जङ्गल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको ५० किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । ‘दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरू ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्’, उहाँले भन्नुभयो, ‘हात्ती जङ्गलमा छ कि छैन भन्ने थाहा हुने कुरा भएन । 'साइरन' को व्यवस्था पनि छैन ।’
डिभिजन वन कार्यालय झापाले हात्ती विचरण गर्ने जङ्गल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । कार्यालयले हात्तीलाई नजिस्काउन, नजिक नजान स्थानीयलाई चेतावनी दिए पनि घाँस, दाउरा, च्याउ र निगुरोको सङ्कलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।
भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका–२ काे चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक–३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए ।
वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शङ्कर लुइँटेल जङ्गली हात्ती सामान्यतया आफू खतरामा परेको महसुस गरेपछि मात्रै आक्रमणमा उत्रिने बताउनुहुन्छ । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उहाँको भनाइ छ ।
‘मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो’, अभियन्ता लुइँटेलले भन्नुभयो, ‘हात्तीका लागि जङ्गलमा आहारा छैन । त्यसो भएकाले हात्तीहरू मानव बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।’
डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विगत एक दशकमा झापामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।