आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन

 कात्तिक ९, २०८० बिहीबार १४:५५:२२ | रासस
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।

निर्यातका लागि आवश्यकपर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावारको सम्भावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनु परेको हो । सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार त्यत्तिकै वनमै सडेर जाने गरेको छ । गाडी पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण हिमाली क्षेत्रका समुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनु परेको हो ।

ताप्लेजुङका आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सामुदायिक वन क्षेत्र धेरै रहेको छ । दुई हजार ३५ वर्ग किमिमा फैलिएको यस क्षेत्रमा धेरैजसो सामुदायिक वन क्षेत्रको हिस्सा रहेको छ । तत्कालीन चार गाविसहरू लेलेप, तापेथोक, याम्फुदिन र ओलाङचुङगोलालाई विसं २०५४ मा पृथ्वीको उपहारका रूपमा घोषणा गरिएदेखि नै यस क्षेत्रको जैविक विविधताको संरक्षण र संवर्द्धन कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले गरेको थियो भने हाल यसको दायित्व स्थानीय समुदायबाट गठित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गरिरहेको छ ।

अहिले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तर्गत २५ वटा सामुदायिक वनहरू रहेका छन् । ३ दशमलव ५ हेक्टरदेखि २६ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलसम्मका सामुदायिक वनहरूको कुल क्षेत्रफल ६९ हजार चार सय २६ हेक्टर रहेको छ । यसअघि २६ वटा सामुदायिक वनहरू रहेकोमा फक्ताङलुङ गाउँपालिका–६ को लुङथुङमा रहेको नागथान संरक्षण सामुदायिक वनको जग्गा जिल्ला प्रशासन कार्यालयको नाममा रहेको प्रमाणित भएपछि खारेज गरिएको थियो । अहिले फक्ताङलुङ–५ मा छ वटा सामुदायिक वनहरू रहेका छन् । जसमा पताले संरक्षण सामुदायिक वन (१७ हजार दुई सय १७ हेक्टर), सातपत्रे महिला रानीवन (नौ हेक्टर), कापोलुङ (१४ दशमलव ३ हेक्टर), नाम्फुवा (चार सय ७७ दशमलव ४ हेक्टर), निगीजम फुलबारी (एक हजार एक सय ३५ दशमलव ९ हेक्टर), लुकुम्बा फूलबारी (चार सय ४२ हेक्टर) रहेको छ ।

त्यस्तै फक्ताङलुङ गाउँपालिका—६ माउजेली पाखा (१४ दशमलव ३८ हेक्टर), वनपाला (८ दशमलव ३ हेक्टर), गुराँसे (२२ दशमलव ९ हेक्टर), दोरोङ्ग्याबु (छ सय ७५ हेक्टर), लुङथुङ (११ दशमलव ९ हेक्टर), दोबाटे (एक सय ८७ दशमलव ९ हेक्टर), लप्सीबोटे (३ दशमलव ५ हेक्टर), थाक्पाखोला (१७ दशमलव ७ हेक्टर), लावाजिन (एक हजार चार सय ६६ दशमलव ७ हेक्टर), बिगबारी (छ सय ७५ दशमलव ७ हेक्टर), कुम्भकर्ण (१० हजार पाँच सय २०), हिउँचुली (चार सय २५ हेक्टर) रहेको छ । 

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुई वटा सामुदायिक वनहरू रहेका छन् । जसमा टिप्तला भञ्ज्याङ (२६ हजार पाँच सय आठ हेक्टर) र ओमीखाङ्गी (५ हेक्टर) रहेको छ । सिरीजङ्घा–८ याम्फु दिनमा कञ्चनजङ्घा (चार हजार नौ सय हेक्टर), पाथीभरा (चार सय सात दशमलव ३१ हेक्टर), तिम्बुङ पोखरी (३१ दशमलव ५ हेक्टर), देउराली (५ हेक्टर) रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा रहेको छ । तर यी समुदायिक वनहरूको आम्दानीको स्रोत भने शून्य जस्तै छ ।

यी २५ वटा सामुदायिक वन क्षेत्र बाहेक पनि सरकारी वनहरू रहेको व्यवस्थापन परिषद्ले जनाएको छ । यी सामुदायिक वनमा समावेश हुन नसकेको हिमाली क्षेत्रहरूमा पनि वन क्षेत्रहरू रहेको पाइएको छ । त्यस्तै निजी वनहरू पनि संरक्षण क्षेत्रमा रहेका छन् । लेलेप, तापेथोक र याम्फुदिनमा निजी वनका रूपमा रहेका वनहरूको क्षेत्रफल कति रहेको छ भन्ने तथ्याङ्क छैन भने निजी तथा धार्मिकरूपमा रहेको वनहरू अहिलेसम्म परिषद्मा दर्ता पनि नभएको परिषद्ले जनाएको छ ।

अहिले यी २५ वटा सामुदायिक वन क्षेत्रको संरक्षण संवर्द्धन र उपयोग पनि स्थानीय समुदायबाट गठित संरक्षण सामुदायिक वन उपभोक्ता समूहबाट भइरहेको छ । परिषद्को गठनको पूर्वसन्ध्यामा गठन हुने यो उपभोक्ता समूहबाट पनि परिषद्मा प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । सामुदायिक वनबाट घरायसी प्रयोजनका लागि प्रयोग हुने काठ, दाउरा, घाँस, जडीबुटी, सोत्तर समुदायले उपयोग गर्दै आएको छ । यो बाहेक व्यापारिक प्रयोजनको लागि सामुदायिक वनबाट कार्ययोजनाअनुसार परिषद्को स्वीकृती लिएर मात्र वन पैदावारको निकासी गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लालीगुराँस उपभोक्ता समितिका अध्यक्ष केसिङकुमार लिम्बूले बताउनुभयो । उहाँका अनुसार अहिले सामुदायिक वनबाट स्थानीय समुदायले कार्ययोजनाअनुसार दैनिक घरायसी प्रयोजनको लागि मात्र वन पैदावारको उपयोग गर्दै आएको तर निकट भविष्यमा यस क्षेत्रमा सडक पुगेकाले सामुदायिक वनले आफ्नो कार्ययोजनामा समावेश गरेर सडेको, मक्केको, ढलेको वा निकासी गर्न मिल्ने काठहरू निकासीगरी समितिको सिफारिसमा परिषद्को स्वीकृत लिएर बेच्न पनि सक्नेछन् ।

लुङथुङ सामुदायिक वनका तत्कालीन अध्यक्ष फुपु शेर्पाकाअनुसार सामदायिक वनको कार्ययोजनाअनुसार मात्रै यसबाट निकासी हुने वनपैदावारको उपयोग गर्न मिल्छ । विगतमा विभिन्न सामुदायिक वनमा घरायसी काठ सङ्कलन नगर्दा उजुरी पनि परेको थियो । जसबाट सामुदायिक वनमा सुशासन कायम गर्न पनि समस्या रहेको छ ।

परिषद्बाट कर्मचारी र प्राविधिकहरू भनेको समयमा उपलब्ध हुँदैन । वनमा प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ तर परिषद्मा प्राविधिक कर्मचारी छैनन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेको २ जना रेञ्जरले सबै सामुदायिक वनमा भौगोलिक विकटताका कारण पुगेर सेवा दिन सक्दैनन् । 

वन छ तर आम्दानी लिन नसकेको फक्ताङलुङ—६ अवस्थित टोबाटे सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तारादेवी लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार यस क्षेत्रका सामुदायिक वनहरूले अहिलेसम्म आम्दानी लिन सकेका छैनन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतमा सामुदायिक वनहरूमा अक्षय कोष जम्मा गरिदिने गरेको छ । त्यही कोषको ब्याजबाट आएको पैसाले बैठक, वन हेरालुलाई पारिश्रमिक दिँदै आएको लिम्बूले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया