संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

 कात्तिक ९, २०८० बिहीबार १९:४१:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायली कूटनीतिज्ञहरूले लगाएको हमास आक्रमणको समर्थन गरेको भन्ने आरोपको स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए ।

इजरायल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलवार भएको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताउनुभयो ।

उहाँले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्त्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भन्नुभयो ।

मङ्गलवार गुटेरेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजरायलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भन्नुभयो, ‘महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारण नै बढी थिए ।’ उहाँले महासचिवको राजीनामासमेत माग गर्नुभएको थियो । यसका साथै महासचिव गुटेरेसको भिसासमेत रोक्ने चेतावनी दिनुभएको थियो ।

यस्तै इजरायलका विदेशमन्त्री एली कोहेनले पनि गुटेरेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउनुभयो । साथै उहाँले मङ्गलवार महासचिवसँगको निर्धारित बैठक रद्द गर्नुभयो ।

बैठकपछि मङ्गलवार नै महासचिव गुटेरेसले हमासले बन्धक बनाएका केही परिवारलाई भेट्नुभयो र गाजाभित्र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गर्नुभएको थियो ।

बुधवार बिहान सुरक्षा परिषद् बाहिर पत्रकारहरूसँग उहाँले भन्नुभयो, ‘मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु ।’

आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उहाँले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया