उद्धारमा खटिएका डीएसपीमाथि नै चक्कु प्रहार

 कात्तिक १०, २०८० शुक्रबार १२:४२:३३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाँके – इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते हुनुभएको छ ।

कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डीएसपीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । त्याे सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डीएसपी तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताउनुभयो । तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि थापाले उहाँमाथि नै चक्कु प्रहार गरेका थिए ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति झन्डै ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक अवस्था ठिक नभएको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया