नेपालगञ्ज उपमहानगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

 कात्तिक १२, २०८० आइतबार ११:३४:५२ | रासस
unn.prixa.net

बाँके - नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएकाे छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था गरेको हाे । 

उपमहानगरपालिकाले गएकाे साउन १ गतेदेखि सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी भएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो।  

उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ ।

उपमहानगरपालिका मेयर प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो । 'अस्पतालसम्म पुग्न बिरामीले कुनै कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार नागरिकको सुख, दुःखमा सँगसँगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो', उहाँले भन्नुभयो, 'चौबीसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स ‘स्ट्याण्डबाई’ रहन्छन्, 'हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि बिरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।'

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै भएकाले उपमहानगरपालिकाले स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाले नगरका २३  वडालाई लक्षित गरेर वडा नं ४ मा पहिलोपटक एक जना एमबीबीएस चिकित्सक र ल्याब टेक्निसियनसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ । 

'विशेषज्ञ सेवाका लागि नेपालगञ्जमै भेरी अस्पताल रहेकाले नागरिकको स्वास्थ्य प्रवर्द्धनात्मक सेवाका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएकोे छ', उहाँले भन्नुभयो, 'अहिले विकराल बन्दै गएको नसर्ने रोगको अवस्थालाई मध्यनजर गरी केन्द्रबाट नगरवासीलाई स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा सेवा प्रवाह गरिएको छ ।'

सर्नेभन्दा नसर्ने रोगको समस्या धेरै हुँदै गएकाले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिकरूपमा स्वस्थ भएमात्र मानिस स्वस्थ हुने भएकाले स्वास्थ्य प्रवर्द्धनका लागि सबैले पैरवी गर्ने बेला आएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया