नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
ताप्लेजुङ – ताप्लेजुङमा रहेकाे विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई 'पोर्टेबल' अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले 'पोर्टेबल' अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो ।
दशैँ तिहारको समयमा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी 'पोर्टेबल' अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चुङ्गोला र याङ्मामा याे व्यवस्था गरिएको छ ।
उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाई अल्टिच्युड) जोखिम बढी हुँदा त्याे समस्याबाट बच्नलाई 'पोर्टेबल' अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले याे व्यवस्था गरेसँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई राहत पुगेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । उहाँका अनुसार आवश्यक परेमा वा आपत्कालीन अवस्थामा तत्काल सजिलैसँग 'पोर्टेबल' अक्सिजन सिलिन्डर प्रयोग गर्न सकिन्छ ।
अक्सिजनसँगै उच्च भेगमा चिसो र अक्सिजन कमीका कारण टाउको दुख्नेलगायत स्वास्थ्यमा देखापर्ने समस्याको निदान गर्न वा स्वास्थ्यलाई सन्तुलन राख्न सहयोग पुग्नेखालका औषधिसमेतको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । कञ्चनजङ्घासहित जिल्लाका मुख्य पर्यटकीय गन्तव्यहरू फक्ताङलुङ गाउँपालिकामा पर्ने हुँदा पालिकाले पर्यटन प्रवर्द्धन साथै भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढाउने उद्देश्यले 'पोर्टेबल' अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था मिलाएको जनाएको छ ।
दशैँ तिहारको मौसमसँगै आजभोलि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । असोजयता तीन सय ५० जना विदेशी पर्यटक भ्रमणमा आइसकेका कञ्चनङ्घा संरक्षण व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोस्टका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा भ्रमण गर्न विदेशी पर्यटक आउने क्रम जारी रहेको छ । त्यस्तै आन्तरिक पर्यटक पनि उल्लेख्य सङ्ख्यामा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आइरहेको घुन्सा चोक पोस्टले जनाएको छ । आन्तरिक पर्यटकको भने तथ्याङ्क नराखिएको जनाइएको छ ।
तस्बिर साैजन्य : 'पूर्ण ट्राभलर' युट्युब च्यानलबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।