नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
रामेछाप - कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हाे । यही दुई महिना फेरी लगाएर उनीहरु सिदा र भेटी सङ्कलन गर्नेगर्छन् ।
दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समय पेसा सङ्कटमा पर्दै गएपछि उनीहरु चिन्तित बनेका छन् ।
युवापुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको जोगीहरुको भनाइ छ । आफूहरु बुढो हुँदै जानु र युवापुस्ता (छोरा, नाति) काे आकर्षण नहुँदा पेसा नै सङ्कटमा पर्न लागेकाे दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताउनुभयो ।
उहाँले भन्नुभयो–'स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सिपअनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरहेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुँदैन । अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु ? स्थानीय सरकारले हामीलाई पनि राति घर–घर गइ फेरी लगाउनका लागि आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराठको सिङ) उपलब्ध गराउन सके हामी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौँ ।'
परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घरघर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताउनुभयो । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उहाँको भनाइ छ ।
रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादुर जोगीले भन्नुभयो,'हाम्रा बुबा हजुरबुबाले यही पेसा गरे र हामीले पनि गरिरहेका छाैँ तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ न त अरुबाट नै । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।' तर हाम्रो शेष पछि भने हामीले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।
कात्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घरघरमा गइ विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्नेगर्छन् । कसैकसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लगाउने गर्दछन् । उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राति फेरी लगाएको घरघरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् ।
सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो हाल्छन् र एउटा टोल वा गाउँ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् ।
रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा गरी करिब एक सयको सङ्ख्यामा उनीहरुको बसोबास रहेको छ । दोलखाको मेलुङ गाउँपालिकामा ५० जनाको सङ्ख्यामा जोगीहरुको बासोबास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउँदै आइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।